काठमाडौं । वैतडीको पाटन नगरपालिका नगर कार्यपालिका सदस्य रमेश राम कोलीलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर कार्यपालिका सदस्य बनेका कोलीले पार्टी परित्याग गरेको भन्दै कांग्रेसले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको हो । यस सम्बन्धमा आयोगले पुस २९ गते सूचना सार्वजनिक गरी जानकारी दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा सम्बन्धित दलले निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।
सो निर्णयविरुद्ध कोली सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गरेकी छन् ।
कोलीले निर्वाचन आयोग काग्रेस केन्द्रिय कार्यालय, काग्रेस केन्द्रिय समिति, काग्रेस केन्द्रिय कार्यसम्पादन समिति, काग्रेस बैतडी जिल्ला समिति र जिल्ला अनुशासन समिति बैतडीलाई विपक्षी बनाएर हिजो सर्वोच्चमा रिट हालेका थिए ।