काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका नेता एवं प्रवक्ता प्रकाशशरण महतले कांग्रेस कुनैपनि दलसँग सती नजाने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसलाई चलाउँदा राजा र राणा नै सकिएको बताएका हुन् । ‘कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शती जाँदैछ भन्ने चर्चा छ नि ?’ भन्ने प्रश्नमा उनले आफूहरु कुनै दलसँग पनि सती जानुपर्ने आवस्यकता नरहेको र कांग्रेससँग जोरी खोज्ने जोकोही सकिने धारणा राखे ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलक्षित गर्दै उनले भने, ‘कांग्रेस कसैसँग सती जान्छ भनेर तपाईँ पत्याउनु हुन्छ ? राजाले सकाउन खोज्यो, हाम्रा नेताहरुलाई जेलमा हाल्यो । आफैं सकियो । दलहरुले यसलाई कमजोर बनाउन खोजे, नयाँ–नयाँ स्वरुप र प्रवृत्तिमा प्रकट भए । आफैं उभिन पाएको छैन, धरासायी भए । हामी कमजोर हुने, अरुको एजेण्डामा, अरुले जे भन्छन् त्यसैमा समाहित हुने भन्ने प्रश्न छैन ।’
साथै, संविधान संशोधन गरेर संसद्को सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने उनले बताए । अहिलेको निर्वाचन प्रणालीमा ठूलो दलले सानो दलको नेतृत्व स्वीकार गर्नुपर्ने अवस्था आएको नेता महतले बताए । ‘सबैभन्दा ठूलो पार्टी भएको हिसाबले, सबैभन्दा ठूलो पार्टी जुन छ, त्यसैको नेतृत्व हुनुपर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने भयो । कि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्यो । जुन पार्टीको सबैभन्दा बढी संख्या संसद्मा हुन्छ, त्यसै दलले सरकारको नेतृत्व गर्नुपर्ने हो कि भन्ने मलाई लागिरहेको छ । माओवादीको हाम्रो भन्दा एक तिहाइ मात्रै सांसद थियो, हामी नभइ बहुमत पुग्दैन । सरकार बनाउने हो भने हामीलाई प्रधानमन्त्री दिनुस् भन्यो । अहिले सबैभन्दा ठूलो पार्टीले कम संख्या भएको पार्टीको नेतृत्व स्वीकार गर्नुपर्ने अवस्था छ । नत्र सरकार नै बनाउन नसक्ने, अरु मिलिदिने, त्यस्तो परिवेशमा एमालेले पनि माओवादीको नेतृत्व स्वीकार गर्यो । माओवादीभन्दा त एमाले पनि ठूलो थियो,’– उनले भने ।
पार्टी सभापति शेरबहादुर देउवाको स्वभव बोलेको कुरा पूरा गर्ने रहेको उनले सुनाए । पछिल्लो समय सबैले एकअर्काबाट हण्डर खाइसकेको अवस्थामा केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बनाउने मामलामा धोका नहुने आफूलाई लागेको उनले बताए । हिजो बसेको पदाधिकारी, पूर्व प्रदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरुबीच छलफल भएको पनि उनले बताए । मन्त्रीहरुले आफूहरुले काम गरिरहेको र सरकार एकदमै सौर्हादपूर्ण तरिकाले चलिरहेको पनि बताएको उनले सुनाए । ‘हाम्रो पदाधिकारी, पूर्वपदाधिकारीहरुको बीचमा सरकारमा बसेका मन्त्रीहरु, संयन्त्रमा बसेका साथीहरु, पार्टी सभापतिसहित संसदीय दलमा हामी बसेका थियौं । उहाँ (मन्त्री) हरुले एकदमै सौहार्दपूर्ण तरिकाबाट चलिराखेको छ । समस्या छैन, हामी काम पनि गरिराखेका छौं भनेर प्रस्तुत हुनुभयो,’– नेता महतले भने ।