Logo

क्रान्तिकारीको चुनावमा लफडा: मतपत्रमा पानी खन्याएपछि मधेसको मतगणना स्थगित, दुई विशेष प्रदेशको गणना पनि रोकियो



काठमाडौं । हिजो भएको अखिल क्रान्तिकारीको निर्वाचनको मतगणना जारी छ । हालसम्म लुम्बिनी, गण्डकी र सुदूरपश्चिम लगायतका केही प्रदेशका नतिजा सार्वजनिक भएका छन् । यता मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि मतगणना रोकिएको हो ।

नेतृत्वका लागि तीव्र प्रतिस्पर्धामा देखिएका विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको स्रोतले जनाएको छ । हालसम्म मधेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् ।

उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना भने बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा विवाद हुँदा रोकिएको छ।

दुवै प्रदेशको मतदान काठमाडौंको भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा भएको थियो। मतगणना शनिबार बेलुकैदेखि सुरू गर्ने भनिएपनि सदर र बदर मतबारे राति अबेरसम्म सहमति जुट्न नसक्दा गणना रोकिएको हो।

क्रान्त्किारीको अध्यक्षका लागि सापकोटासहित हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव मैदानमा छन् । उनीहरु सबै शीर्ष नेताहरुलाई गुट बनाएर मैदानमा उत्रिएका हुन् ।

अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् ।

विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मत खसेको छ । मधेश प्रदेशमा १९५ मत खसेको छ ।
। हलसम्मको परिणामअनुसार विजय सापकोटा, हेमन्त राईभन्दा २३ मतले अगाडि छन् । सापकोटाले कुल ४५३ मत पाउँदा राईले कुल ४३० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्