काठमाडौं । पार्टी सभापति रवि लामिछोन सहकारी ठगीमा मुछिए देखिनै अन्य दलका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै विभिन्न गतिविधि गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरु झनै उग्र बन्न थालेका छन् ।
गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमै सहकारी पीडितको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका रास्वपाका समर्थकले शनिबार फेरि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलमाथि दुर्व्यवहार गरेका छन् ।
धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपा कार्यकर्ताहरूले शनिबार रावलमाथि दुर्व्यवहार गरेका हुन् । पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली गलोज र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको उनका स्वकीय सचिव राजबहादुर चन्दले बताएका छन् ।
‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भइ अराजक समूहको अगाडि निरिहता देखाएकोमा आपत्ति छ’, चन्दले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अराजक कार्यकर्ताहरूले सामाजिक सञ्जालहरूमा चरित्र हत्या हुने ढंगले भिडिओको केहीँ अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पुर्याउने कुकृत्यको घोर आपत्ति प्रकट गर्दै यस्ता कार्यमा संलग्नलाई कारबाहीका लागि कानूनी बाटो खोजिने जानकारी दिन चाहन्छौं ।’
पूर्व मुख्यमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका रावलले प्रदेश सभाबाट सवारी सञ्चालनको पास लिएर आफू धनगढी गएको बताएका छन् । उनले आफू जनताको सेवक भएको हुँदा जतिबेला पनि सामाजिक काममा खटिनुपर्ने अवस्था आउने हुँदा रास्वपाका कार्यकर्ताले उल्टै दुव्यर्वहार गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
‘मैले जनताको काम गर्न २४ घण्टा खटिनुपर्छ । चाहे छुट्टी होस् या नहोस् । चाहे सार्वजनिक विदा होस् या नहोस् । मैले सुदूरपश्चिमका जनता र देशको भविष्यको लागि आफ्नो पुरै जीवन समर्पित गरेको कुरा यहाँहरूमाझ खुला किताबका पाना झै छर्लङ्ग छ’, रावलले भनेका छन्, ‘म अझै पनि देश र जनताको लागि इमानदार र समर्पित छु र जसरी म र मेरो टिममाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यहारको प्रयास गरेको छन् त्यसको घोर भत्सर्ना गर्दछु र दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दछु । त्यो कमजोर मानसिकताबाट माथि उठेर हामी सबै मिलेर सुदूरपश्चिम बनाऔंरदेश बनाऔं ।’