Logo

प्रचण्डले ‘सरकार ढाल्छु र चुनाव जित्छु’ भन्नु हावादारी गफ होः एमाले नेता भट्टराई (भिडिओसहित)



काठमाडौं, १३ माघ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधारको आवस्यकता रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको निर्वाचन प्रणालीमा चुनाव भनेकै धनीमानीले लड्ने हो भन्ने जस्तो प्रवृत्ति देखापरेको बताए । नेता भट्टराईले ०८४ सम्म संविधान संशोधन गरी निर्वाचन प्रणालीमा फेरबदल ल्याइने बताए । उनले संविधान र कानुनमा रहेको स्थिरताविरोधी व्यवस्थालाई संशोधन गरेर मुलुकलाई स्थायित्वको पक्षमा अगाडि बढाइने बताए ।

‘संविधान संशोधन अहिले गरेर काम पनि छैन । ०८४ को निर्वाचनसम्ममा हामीले गर्ने, हामीले गर्न खोजेको खास कुरा के हो भने निर्वाचन प्रणालीमा व्यापक सुधार गर्ने । अहिलेको निर्वाचनका विकृतिहरुलाई पनि अन्त्य गर्ने । चुनाव भनेकै धनीमानीले लड्ने, धेरै पैसा हुनेले लड्नेजस्तो बनाइएको छ, वडादेखि केन्द्रसम्म । यो सबै चिजलाई अन्त्य गर्ने, अस्थिरताका सबै कारक चिजलाई हटाउने र संविधान र कानुनमा देखिएका स्थिरताको विरोधी बुँदाहरुलाई हटाउने गरी कांग्रेस–एमालेको सरकार बनेको हो । ०८४ को निर्वाचन अगाडि संविधान संशोधन गरेर स्थायित्वको पक्षमा मुलुकलाई अगाडि बढाउनै पर्ने छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेर वर्तमान सरकार नढल्ने उनले बताए । प्रचण्डले २०७४ सालदेखि कहिले कांग्रेस, कहिले एमाले गर्दै केही सिट जितिरहेको बताउँदै अब प्रचण्डले सरकार ढाल्ने र चुनाव जित्ने कुरागर्नु हावादारी गफ हुने बताए । प्रचण्डले २०६४ सालतिरको क्षमता भएको जस्तो कुराकानी गर्ने गरेको भएपनि क्षमता र जनमत भने गुमाइसकेको उनले बताए । नेता भट्टराईका अनुसार प्रचण्डले क्षमता र जनमत गुमाइसकेको तथ्य स्वीकार्न सकेका छैनन् ।

‘यसभन्दा अगाडिको २ वटा चुनाव ०७४ र ०७९ को चुनावमा कहिले कांग्रेस, कहिले एमालेलाई झुक्याउँदै मिलेर अलिअलि सिट ल्याउनु भएको थियो । पछिल्लो चुनावमा जम्मा १८ वटा सिट जितेको हो कांग्रेससँग मिल्दाखेरी । १८ वटा सिट जितेको पार्टीले हामी सरकार ढाल्छौं भन्नु अथवा फेरि हामी चुनाव जित्छौं भन्ने त्यो हावादारी गफ हो । त्यो कसैले पत्याउनेवाला छैन । उहाँले त्यो भन्दै आउनु भएको छ । त्यसको कुनै अर्थ छैन । उहाँले केही गर्दा पनि कांग्रेस एमालेको गठबन्धन टुटाउन सक्नुहुन्न,’– उनले भने ।

प्रचण्डकै दम्भका कारण कांग्रेस–एमालेसहितको सरकार बन्ने वातावरण बनेको उनले बताए । प्रचण्डले ‘म जादुमय सिट लिएर बसेको छु, चमत्कार देखाउँछु, यिनीहरु केही होईनन्’ भन्ने बाध्यताको उपज रहेको उनले बताए । File photo/RN



प्रतिक्रिया दिनुहोस्