काठमाडौं, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको तर्फबाट सहिद दिवस मनाउने कार्यक्रम तय भएको बताएका छन् । आज (मंगलबार) मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भोलि (बुधबार) सहिद दिवसको दिन विविध कार्यक्रम आयोजना गरिएको बताएका हुन् । सहिद दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने उनले बताए ।
‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । सहिद दिवस भोलि नेपाल सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला हामी सहिद गेट जान्छौं । प्रधानमन्त्रीज्यूुुसहित सबै मन्त्रीहरुले माल्यार्पणसहित श्रद्धाञ्जली हुन्छ । त्यसपछि हामी लैनचौरमा गएर जान्छौं । सम्भवतः भृकुटीमण्डपमा, ठाउँ कहाँ खाली हुन्छ, त्यहाँ कार्यक्रम हुन्छ,’– मन्त्री गुरुङले भने ।
नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासनबिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।