Logo

यो सरकार नेपालको बन्न जरुरी छः विप्लव



काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल सरकार नेपाल र नेपालीको बन्न नसकेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले नेपालको सरकार नेपाल राज्यको र जनताको बन्न नसकेको बताएका हुन् । विप्लवले नेपालको गणतन्त्र पनि जनताको गणतन्त्र बन्न नसकेको दाबी गरे । नेपालको सरकार र नेपालको राज्यलाई जनताको सरकार र जनताको राज्यमा बदल्न आफूहरु लागिरहेको विप्लवले बताए ।

‘सरकार हेरफेर होला, नहोला । त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन । हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ । नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन । यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ । त्यो क्षमता हामीसँग छ । त्यो हिसाबले समाजवादी मोर्चाले काम गर्ने छ,’– उनले भने ।

महासचिव विप्लवले देशलाई दलालहरुको हातमा राखेर आफूहरु चुप लागेर बस्नेवाला नरहेको बताए । उनले देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ र बस भन्दा बस गर्ने मान्छेहरुको जिम्मा लगाएर आफूहरु बस्न नसक्ने बताए । उनले नेपालको निर्विकल्प निकास समाजवाद नै रहेको दाबी गरे । महासचिव विप्लवले भने, ‘नेपालको निर्विकल्प निकास भनेको समाजवाद हो । दलाल पुँजीवादबाट देशलाई हामीले साँच्चिकै स्थिरता दिने हो भने यसको विकल्प समाजवाद हो, नेपाली विशेषताको समाजवाद हो ।’

अहिले अर्थतन्त्र देशको सुदृढ र सन्तुलित हुन नसकिरहेको उनले बताए । नागरिकहरुको जीवनपनि निकै कष्टकर पाएको उनले सुनाए । देशमा उत्पादनको एकदमै ठूलो खडेरी परेको विप्लवको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्