Logo

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना, सचिवमा उपरकोटीलाई सर्वाधिक मत, अरु को-को भए विजयी ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छन् । गत शनिबार भएको क्रान्तिकारीको निर्वाचन अन्तर्गत आज सकिएको मतगणनामा राना विजयी भएकी हुन् । उनले ५९६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार कोषाध्यक्षसँगै सचिव पदको पनि मतगणना सकिएको छ ।

सचिव खुलामा सम्झना राई, प्रैम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।

यस्तै सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

त्यस्तै तिर्सना आलेमगर ४९८, समकृति पुनले ५२९, अर्टिष्ट मोक्तान ४१५ र आशा उपरकोटी ७४६ मत ल्याएर सचिवमा चुनिएका छन् । उपरकोटीले पाएको यो मत सर्वाधिक हो ।

अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।

अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

सापकोटा ४८१ र राईले ४६१ मत ल्याएका छन्। क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।

यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।



प्रतिक्रिया दिनुहोस्