Logo

सानेपामा कांग्रेसको स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन, के भन्छन् व्यवसायीहरू ?



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपा परिसरमा नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन गरेको छ। सम्मेलनको बुधबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।

केन्द्रीय सदस्य उर्मिला थपलिया (सीता) नेतृत्वमा रहेको पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन आयोजना गरेको हो।

सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सम्मेलनको निष्कर्षले पार्टी र सरकारलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेका थिए।

सभापति देउवाले गाउँगाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।

‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्नेछ,’ उनले भने, ‘पछिल्लो समय स्टार्टअपमा आकर्षण बढ्दो छ, युवा पुस्ताले थौरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन्।’

सभापति देउवाले उद्यमीहरूले भोग्नुपरेको कानुनी र प्रक्रियागत झन्झट हटाउन सरकारले हालै अध्यादेशमार्फत् कानुनमा सुधार गरेको पनि बताए।

भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत गर्ने हेतुले सम्मेलन गरिएको विभागकी प्रमुख उर्मिला थपलियाको भनाइ छ।

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवा प्रदर्शनीमा राखेका छन्। सानेपामा त्यस्ता उत्पादनबारे जानकारी र बिक्रीका लागि ८० वटा स्टल राखिएको छ।

बिहीबारसम्म चल्ने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्रमार्फत साना तथा मझौला व्यवसायसम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरूबीच छलफल हुनेछ।

सम्मेलनको बुधबारको सत्रमा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जीबि नेपालले सरकारको ‘सर्पोटबिना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताए।

स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ छ।

‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक छलफलमा बोल्दै उनले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाट नै हुनुपर्ने बताए।

स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने बताए। सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै व्यवसायीमा नयाँ ऊर्जा पलाएको बताए।

निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने उनको दाबी छ।

नबिल बैंकका सिनियर डिसिओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। स्टार्टअप सुरू सुरूमै असफल हुने उनको भनाइ छ।

बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने उनले बताए। स्टार्टअपहरूले बैंक खोज्नेभन्दा पनि सरकारी स्रोत खोज्नुपर्ने उनको भनाइ थियो।

गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरूरी रहेको बताइन्। नेपाली युवाहरुलाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाई छ।

‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ। तर नेपालमा धेरै चुनौती छन्। जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भइसकेको छ। यदि प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन्।



प्रतिक्रिया दिनुहोस्