काठमाडौं । नेकपा एमालेले पार्टीका पुराना नेता तथा ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मानित व्यक्तित्व छत्रबहादुर बोहराको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको साविक पिस्कर गाविसका पूर्व अध्यक्ष बोहराको ८३ वर्षको उमेरमा बुधबार साँझ काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज एक शोक वक्तव्य प्रकाशित गर्दै बोहराको निधनको खबरले पार्टी स्तब्ध भएको जनाएका छन् ।
मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध पार्टीले शुरु गरेको कठोर सङ्घर्षमा बोहराले गरेको योगदान अत्यन्त महत्वपूर्ण र अविष्मरणीय रहेको उल्लेख गरिएको छ ।
शोक बक्तव्यमा भनिएको छ ‘पिस्कर आन्दोलनका अग्रज नेता, नेकपा एमाले बाग्मतीका पूर्व सल्लाहकार स्व बोहरा निरङ्कुशता विरुद्धको सङ्घर्षमा पटकपटक जेलनेलको सामना गर्नुभएको र उहाँको निधनले नेकपा एमाले, नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनले एउटा निष्ठावान् योद्धा गुमाउनु परेको छ । उहाँले एमालेमा रहेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन निःस्वार्थ भावका साथ गर्नुभएको योगदान सधै स्मरणीय रहने छ’ ।
एमालेले स्व। बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा उनका जीवन संगिनी ईश्वरी सुब्बा बोहरा तथा छोराछोरीहरू लगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको छ । बोहरा एमाले सल्लाहकार परिष्षद्का अध्यक्ष अमृत बोहराका दाजु तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका जेठाजु हुन् ।