
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पूर्वराजाले अराजक हर्कत गर्दै गएमा उनलाई नेपाली जनताले देशमा नै बस्न नदिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अराजक गतिविधि गर्नुअघि नेपालमा बस्ने वा नबस्नेबारे पनि सोच्नुपर्ने बताएका हुन् । उनले भने, ‘राजाको जुन हर्कत हुँदैछ, राजा आफू नेपालमा बस्ने कि नबस्ने त्यतातिर सोचे हुन्छ । नेपाली जनताले अहिलेसम्म राजालाई बस्ने वातावरण बनाइदिएका छन् ।’
२०६२÷०६३ को जनआन्दोलनको बेलामा जनताले तत्कालीन राजा ज्ञानेन्द्रलाई मार्ने र देश निकाला गर्नेलगायतका माग राखेको बिर्सन नहुने उनले बताए । नेपालमा मात्रै पूर्वराजालाई पनि सम्मान दिएर राखिएको उनले बताए । कसैको उक्साहटमा लागेर चकचक गर्नुअघि नेपालमा भोलि बस्ने कि नबस्ने भन्ने कुरा सोच्न आवश्यक रहेको बताए ।