
काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकालले जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार मन्त्रीपरिषदको गत फागुन ६ गतेको निर्णयले ढकाललाई आगामी ३ वर्षसम्मको अवधिलाई महाप्रबन्धकको जिम्मेवारी प्रदान गरेको हो । विभिन्न व्यक्तिको प्रतिष्पर्धाबीच गोरखाका ढकाललाई खानेपानी मन्त्रालयले सिफारिस गरेको थियो । ५ जनाको सिफारिसमा ईन्जिनियर ढकालसहित डा. इश्वर प्रसाद, डा.डोलप्रसाद चापागाँई, ई.निरण महर्जन र ई. बुद्धरत्न महर्जन रहेका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत ढकाल स्वच्छ छवी, मिलनसार व्यक्तित्व र उच्च योजनाकारका रुपमा चिनिन्छन् । महाप्रबन्धक ढकालले सम्हालेको जिम्मेवारी कुसलतापूर्वक निर्भिक र निडर भएर पुरा गर्ने गरेको उनी निकट भएर काम गर्नेहरुले बताउँदै आएका छन् । पुनः नियुक्त भएका ढकालले २०७० असार ३ गतेदेखि २०७४ जेठ १६ सम्म खानेपानी संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाली सकेका थिए । तत्कालिन अवस्थामा नयाँ शाखा विस्तार, समयानुकुल महशुल हेरफेर, कर्मचारीको हक तथा हितमा काम गरेर सफल कार्यकाल विताएका उनै ढकाल दोस्रो कार्यकाल संस्थानको महाप्रबन्धकको जिम्मेवारी २०८१ फागुन २८ देखि सम्मालेका छन् ।
प्रधान कार्यालयमा भएको पदस्थापन तथा स्वागत कार्यक्रममा नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकालले सवै मिलेर संस्थानलाई अघि बढाउनु पर्ने बताए । संस्थान जानकार महाप्रबन्धक ढकालले कर्मचारीको अनुशासनलाई पहिलो प्राथमिकता दिने बताएका थिए । कामको जिम्मेवारी तथा कर्मचारीको योग्यता, क्षमता र लगनशीलताले मात्र उपभोक्तालाई सेवा दिन सकिने बताएका ढकालले संस्थानको हितमा आजैदेखि भूमिका निर्वाह गर्न सवै तहका कर्मचारीलाई निर्देशन समेत दिएका थिए । पदस्थापन कार्यक्रममा कर्मचारी सेवा शर्त विनियमावली छिट्टै आउने उल्लेख गरेका थिए ।
