
काठमाडौं, ३ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी सरकारले ड्राफ्ट गरिरहेको कानुनको विरोध गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकारको यस्तो प्रकारको कार्यलाई ‘स्याल बहुलाएको’ संज्ञा दिए । पूर्व विशिष्टहरुलाई सेवा सुविधा दिने कुरामा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ ।
‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार युवा विदेशमा गल्लीगल्लीमा भौँतारिँदा भौँतारिँदै यस्तो बेलामा सरकारले पूर्व विशिष्टहरुलाई सेवा सुविधा दिने व्यवस्था गर्न लागेको छ । यो के गरेको हो सरकारले ? स्याल बौलायो भने सहर पस्छ भन्ने नेपाली उखान छ । यस्तो बेला हो ? पूर्वविशिष्टहरु, उहाँहरुले दुःख पाउनु भएको छ ? उहाँहरुको सेवा सुविधा पुगेन ? यस्तो बेलामा पूर्व विशिष्टहरुलाई दिइने सेवा सुविधामा सरकार गम्भीर होस् । यतातिर नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थाप्रति भइरहेको बेलामा यो कसले चलाउँछ सरकार ?’ प्रश्न गर्दै उनले भने ।