Logo

यो गणतन्त्र जिउँदो बाघ चाहीँ होइन, तर नेपालमा फेरि राजतन्त्र आउन सक्दैनः पूर्वमहान्यायाधिवक्ता संग्रौला



काठमाडौं, ५ चैत । पूर्वमहान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अब नेपालमा फेरि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रमा नेपाली जनताले सोचेअनुरुपका काम हुन नसकेपछि यसको विकल्प राजतन्त्र हुन नसक्ने बताएका हुन् । उनले अहिले गणतन्त्र र राजतन्त्रको पक्षमा भइरहेका बहस, विचार र मन्थनमा दुवैतिर अतिवाद रहेको बताए । उनले पृथ्वीनारायण शाह र महेन्द्रको पालामा पनि राजतन्त्र नरहेको र राजा महेन्द्रले आफ्नो जीवनको अन्तिम क्षणमा आफू लोकतन्त्रको पक्षमा रहेको अभिव्यक्ति दिनेगरेको सुनाए ।

‘चाहे अहिले सत्तामा बस्ने मान्छेहरु, अनि उहाँहरुले भनेको गणतन्त्र, यो गणतन्त्र नै हो कि होईन ? एउटा प्रश्न छ । हामीले यो जिउँदो बाघ हो भनेर ठानेको, जिउँदो बाघ चाहीँ होईन । यो लडाइँ गणतन्त्र र राजतन्त्रतिर म दुवैतिर अतिवाद देखिरहेको छु । हामीले फेरि ल्याउने व्यवस्था राजतन्त्र चाहीँ होइन । राजतन्त्र फेरि नेपालमा आउन सक्दैन । किन भने राजतन्त्र त पृथ्वीनारायण शाहले पनि लागू गरेनन् । राजा महेन्द्रले पनि आफ्नो मृत्युको समयतिर राजतन्त्र होइन, लोकतन्त्रकै कुरा गरेको हो,’– उनले भने ।

आन्दोलन, लडाइँलगायत ठूल्ठूला कुरा भन्दा पनि देशको एकताको लागि सबै शक्तिहरु गोलमेचमा बस्न आवश्यक रहेको उनको भनाइ छ । प्रा.डा. संग्रौलाले आरोप–प्रत्यारोपले राष्ट्र बलियो नहुने बताए । अबको युगमा निषेधको राजनीति कुनै पक्षले पनि गर्न नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्