
काठमाडौं, ५ चैत । नेकपा (एमाले) बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले मेरो पालो आयो भनेर टाउको उठाउने र जुँगा मुसार्ने गर्न थालेको खण्डमा उनी सकिने चेतावनी दिएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रले डेमोक्रेशी खान खोजेपछि उनी नटिकेको बताए । २१ शताब्दीको चेतनामाथि म राज गर्छु भन्ने लागेको खण्डमा पूर्वराजाको त्यो सपना पूरा नहुने उनको भनाइ छ ।
‘यदि उनी अब फेरि टाउको उठाएर मेरो पालो आयो भनेर जुँगा मुसार्न थाल्छन् भने जनताले दुःख अलिकति पाउँछन् । तर, त्यसपछि चाहीँ फेरि सकिने गरी पाउँछन्, यो कुरा बुझ्नुपर्छ । २०४६ सालपछि मदन भण्डारीले काभ्रेमा एउटा भाषण गर्नु भएको थियो । हामीले राजासित सहमति गर्यौं, संवैधानिक राजा । यो संवैधानिक राजा नमान्ने तत्व दरबारभित्रै छन् । यस पछाडि कसैले यो डेमोक्रेशी खाने प्रयत्न गर्नेछन् भने युवराज ज्ञानेन्द्रहरुले गर्ने छन् । त्यसपछिको आन्दोलन गणतन्त्रको निर्णायक आन्दोलन हुने छ भनेको थियो । कोर्श त त्यसैमा गयो । २०६१ मा डेमोक्रेशी खान खोजे एक वर्ष पनि टिकेन । आजको युगमा जनताले प्राप्त गरेका अधिकारहरु, त्यसका लागि अहिले तपाईँले देखिरहनु भएको छैन संसारमा लडाइँ ?’ प्रश्न गर्दैै उनले भने ।
अहिलेकै व्यवस्थालाई थप सुधार गरेर जानुपर्ने उनको भनाइ छ ।