
काठमाडौं, ५ चैत । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौंका झोरबाट २५ करोडभन्दा बढी रुपैयाँसहित कुशाङ लामालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय लामाले यसअघि पनि राजश्व छली र सुन चोरी कसुरमा पक्राउ परेर ५ वर्ष कैद भुक्तान गरेका थिए ।
आफ्नै ट्रकमा १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार ३८५ अमेरिकी डलर लिएर झोरको बाटो हुँदै रसुवातिर गइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार लामासँगै नियन्त्रणमा लिइएको ट्रक उनको आमाको नाममा दर्ता रहेको छ ।
प्रहरीका अनुसार पैसा कहाँबाट आएको हो भन्ने अहिले स्रोत खुलिसकेको छैन । विशेष सुराकीको आधारमा अप्रेशन गरी सो रकम पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका लामाले आफू भरियामात्रै रहेको बताएका छन् ।
जफत गरिएको सामानसहित उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइने पनि प्रहरीले बताएको छ ।