Logo

उपप्रधानमन्त्री वरियता विवादले क्याविनेट ठप्प



काठमडौं २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।

प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलको चाङ लागेको छ ।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार तीन सातादेखि बैठक बस्न नसक्दा सरकारले नियमित रूपमा गर्नुपर्ने निर्णयको फाइलसमेत थन्किएका छन् ।

‘सरकारले नियमित रूपमा निर्णय गर्नुपर्ने विषय सातामा १५/२० वटा हुन्छन, ती सचिवले भने, ‘तीन सातादेखि बैठक बस्न नसक्दा फाइल थपिँदै गएका छन् भने कतिपय निर्णय गर्नैपर्ने विषयमा समेत सरकार मूकदर्शक बनेको छ ।’

प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद् बैठक सोमबार बस्ने बताएका थिए तर सोमबार पनि बैठक बस्न सकेन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले आवश्यक देखेको समयमा हुने बताए । ‘मन्त्रिपरिषद् बैठक बोलाउन आवश्यक देखेपछि प्रधानमन्त्रीजीले बोलाउनुहुन्छ,’आचार्यले भने ।

स्रोतका अनुसार प्रधानमन्त्रीले दोस्रो वरियतामा उपप्रधानमन्त्री कमल थापालाई राख्ने कि उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई राख्ने भन्ने निर्णय गर्न सकेका छैनन् ।

उनले थापालाई दोस्रो वरियतामा राख्न खोजेका छन् तर निधिले आफू दोस्रो वरियताक्रममा रहनुपर्ने अडान राखेकाले प्रधानमन्त्री दाहालले निर्णय गर्न नसकेका हुन् ।

थापाले उपप्रधानमन्त्रीको शपथ लिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा थापालाई निधि र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महराभन्दा तल चौथो वरियताक्रममा राखेको थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्