Logo

स्थानीय तहको संख्यामा राज्यले विभेद ग¥यो : अध्यक्ष न्यौपाने



कांग्रेस, एमाले, माओवादी, राप्रपालाई हेटौँडामा धक्का, युवा नेताहरुले पार्टी छाडे

हेटौँडा, १३ वैशख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्व महिला बालबालिकामन्त्री बद्रीप्रसाद न्यौपानेले स्थानीय तहको संख्या थपघटका विषयमा सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

हेटौँडामा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष न्यौपानेले राज्यले नेपाली नागरिहरुबीच विभेद गरेको आरोप लगाए । उनले भने, ‘मधेसी मोर्चासँगको सहमतिको बहानामा नेपाली जनताबीच विभेदको नीति लिएको छ । तराई, पहाड र हिमालमा बस्ने सबै नेपाली बराबर हुन् । जुनसुकै क्षेत्रमा स्थानीय तहको संख्या थपघट गर्दा सबै ठाउँमा बराबरी हुर्नुपर्छ । विभेद गर्न पाइँदैन ।’

मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने बहानामा वर्तमान सरकारले तराईका दश जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने निर्णय गर्नेवित्तिकै विरोध भइरहेका बेला चुरेभावर पार्टीका अध्यक्ष न्यौपानेले पनि सो विषयमा विरोध जनाएका हुन् । उनले जे गरे पनि सबै नेपालीलाई बराबरी हुने गरेर निर्णय गर्नुपर्ने उल्लेख गरे ।

निर्वाचन आयोगले दल दर्ता गर्ने बेलामा निर्वाचन प्रयोजनका लागि दिएको चुनाव चिन्ह स्थानीय निर्वाचनमा खोसेको भन्दै अपात्ति जनाए । ‘निर्वाचन आयोगले साना दलहरुसँग अन्याय गरेको छ’, उनले भने, ‘साना दलहरुलाई एउटै चुनाव चिन्ह दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न दिनुपर्छ ।’

स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने आफूहरुको अडान रहेको उनले बताए । ‘प्रमुख ठूला दलहरु सहमतिमा आउनु पर्छ’, उनले भने, ‘कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरु मिलेर मुलुकलाई सहमति, सहकार्यका साथ निर्णय गरेर राष्ट्रहितमा काम गर्नुपर्छ । होइन भने चुरेभावर पार्टीले खबरदारी गर्न नपरोस् ।’

राष्ट्रियताको पक्षमा चुरेभाव राष्ट्रिय पार्टीले सधैँ संघर्ष गर्दै आएको बताएका अध्यक्ष न्यौपानेले आवश्यक्ता पर्दा फेरि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताए । मकवानपुर जिल्ला चुरेभावर पार्टीका लागि सामरिक क्षेत्र रहेको दाबी गरेका न्यौपानेले भने, ‘हामी संयम भएर सहमतिका साथ बसेका छौँ । अबश्यक पर्दा मकवानपुरले ठूलो योगदान दिनेछ ।’

चुरेभावर पार्टीका उपाध्यक्ष एवम् राजनीतिक विभागका प्रमुख समेत रहेका राजाराम बोगटीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरु छाडेर चुरेभावर पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएका एक सय बढी युवा नेताहरुलाई अध्यक्ष न्यौपानेले खादा ओडाएर स्वागत गरेका थिए ।

चुरेभावर पार्टी प्रवेश गर्नेहरुमा रविन्द्र तितुङ, सरोज अधिकारी, सुमन थापा, श्याम राई, सुवास न्यौपाने, अशोक थापा, गोपाल थापा, रमेश लामा, शंकर न्यौपाने, सुशील न्यौपाने, उमेश खान, दीपराज न्यौपाने, कमल गौतमलगायत एक सय बढी युवा नेताहरु रहेको मकवानपुर जिल्ला कार्यसमितिका उपाध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्