Logo

मधेसी शक्ति नजिकिए : उपप्रधानमन्त्री गच्छदारको यस्तो आग्रह



काठमाडौं ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत सात दलहरूसँग साझा मत बनाउने प्रयास गरिरहेकै बेला उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गच्छदारले शनिबार राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनका विषयमा एकै ठाउँमा उभिन आग्रह गरे । उनले सबैको सहमति बन्न लागेका बेला यसलाई विरोध नगर्न एमाले नेता केपी शर्मा ओलीले छुट्टै भेटी अनुरोधसमेत गरे ।

प्रधानमन्त्रीले शुक्रबार कांग्रेस, राजपा, राप्रपासहित एमालेसँग यस्तै आग्रह गर्दा एमालेले कुनै पनि हालतमा दोस्रो चरण निर्वाचनपूर्व संविधान संशोधनको प्रस्तावमा आफूले समर्थन नगर्ने अडान लिएको थियो । तर, ओलीसँगको संवादको विवरणले भने गच्छदारले दिन चाहेनन् । गच्छदार, ठाकुर र यादवबीच आइतबारसमेत वार्ता हुने भएको छ ।

मन्त्रीपरिषद् बैठकले गत वैशाख २९ गते उपप्रधानमन्त्री गच्छदारको अध्यक्षतामा स्थानीय तहको संख्या थप गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा रक्षामन्त्री बालकृष्ण खाँण र कानून तथा न्यायमन्त्री अजय शंकर नायक सदस्य छन् ।गच्छदारले स्थानीय तहको पहिलो निर्वाचन र त्यसको परिणमलाई समेत हेरेर मधेसवादी शक्तिहरुबीच कुनै प्रकारको एकता गराउने प्रयाससमेत गरिरहनुभएको छ ।

फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले अन्नपूर्णसंगको कुराकानीमा गच्छदारले ठाकुरको नेतृत्वमा रहेको राजपा र यादवको नेतृत्वमा रहेको संघीय समाजवादीसंग संविधान संशोधन र स्थानीय तहको संख्या थपका लागि जारी राखेका अनौपचारिक वार्ता सकारात्मक भएको उल्लेख गर्दै भन्नुभयो, ‘यसमा एमालेपनि लचक हुने विश्वासमा आफुहरु छौं ।’ एमालेले उग्र राष्टवादका नाममा पहाडियाको मतका लागि मधेसलाई उपेक्षा गर्ने राजनीतिक धेरै टिक्दैन ।’ राजपाको सहभागिताबीनाको चुनाव मुलुकको एकताका लागि कठिन हुने उहाँले बताउनुभयो ।

राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले तोकिएको मितिमा स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न हुने संभावना न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो,’ प्रमुख तीन दलसंग एकमात्र विकल्प दोस्रो निर्वाचनमा उम्मेदवारी दर्ताभन्दा अगाबै संविधान संशोधन र स्थानीय तहको सख्ंया थप वा केही एक महिनाका लागि चुनाव स्थगन नै हो ।’ चुनाव एक दुई महिना सर्नु कुनै ठूलो कुरा होइन, चुनावका नाममा मुलुक ठूलै अस्थिरतामा फस्नु सबैका लागि सधैका लागि दुर्भाग्यपूर्ण हुने उहाँले बताउनुभयो । यसै पृष्ठभूमिका मधेसका संसदवादी तीन दल निकट हुँदै गएको जानकारी उहाँले दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्