पोखरा ८ जेठ । कांग्रेस, माओवादी, राप्रपा, संघीय समाजवादी, नयाँ शक्तिलगायतका दलले पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना बहिस्कार गरेका छन् । निर्वाचन अधिकृतले भने बहिस्कारका बाबजुद मतगणना सुरु हुने जनाएका छन् । मतगणनाको विषयमा दलहरू विभाजित भएपछि सांसद्हरू यज्ञबहादुर थापा र शारदा पौडेल गणनास्थलमै धर्नामा बसेका छन् । दुवैजना कांग्रेसका सांसद् हुन् । मतगणना चलिरहेका वेला कांग्रेस, माओवादीलगायतका दलले नक्कली स्वस्तिक छाप र मतपत्र प्रयोग भएको भन्दै विरोध जनाएपछि शनिबार दिउँसोदेखि नै पोखरा–लेखानाथको मतगणना रोकिएको छ ।
महानगरपालिकाको वडा नम्बर १७ को गणना हुँदा केही चाक्लो स्वस्तिक छाप रमतदान अधिकृतको दुईवटा हस्ताक्षर भएको मतपत्र फेला परेपछि विवाद सुरु भएको हो । ती मतपत्र पनि सक्कली भएको भन्दै प्रमुख निर्वाचन अधिकृतले मतगणना जारी राख्न निर्देशन दिएपछि विवाद सुरु भएको थियो । तर, कांग्रेस, माओवादीलगायतका दलले स्वस्तिक छाप र मतपत्र सक्कली भए मुचुक्ला उठाउन आग्रह गरे पनि निर्वाचन कार्यालयले स्वीकार गरेको छैन । मतगणना बहिस्कार गरेका दलहरूले आइतबार मुचुल्का उठाउन आग्र गर्दै कास्कीका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा उनीहरूले पुनः निर्वाचनको माग गरेका छन् ।