काठमाडौं १५ जेठ ।लुक्लामा दुर्घटना भएको गोमा एयरको कार्गो जहाजको विस्तृत छानवीन गरी ९० दिन भित्र प्रतिवेदन पेश गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । भबिश्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता लगायतका बिषयमा सुरक्षा सिफारिस गर्न संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री जितेन्द्र देवले आइतवार पाँच सदस्यीय जाँच आयोग गर्नु भएको हो ।
नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित आयोगमा नेपाली सेनाका महासेनानी क्याप्टेन आशिष नरसिंह राणा,तारा एयर प्रालिका क्याप्टेन बोधराज निरौला,मनाङ एयर प्रालिका बरिष्ठ इन्जिनियर दिगम्बर राजभण्डारी र नागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनु भएको छ । आचार्यलाई आयोगको सदस्य सचिव तोकिएको छ । आइकाओको मापदण्ड र गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली अनुसार राय सुझावसहित पेश गर्न आयोगलाई जिम्मेवारी दिइएको छ ।
उडान नम्बर ४०९ र रजिष्ट्रेसन नम्बर नाइनएनएकेवाइ लेट ४१० को विमान लुक्ला बिमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालक पारसकुमार राईको दुर्घटनास्थलबाट लुक्लास्थित अस्पताल लैजाने क्रममा र सह चालक श्रीजन मानन्धरको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।