Logo

नेपाल चीन सम्बन्ध नयाँ ‘फ्रेम’ मा अघि बढ्दै



काठमाडौं ८ असार ।
छिमेकी चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपालले दिएको साथले दुई देशबीचको सहकार्यलाई नयाँ ‘फ्रेम’ मा अघि बढेको विश्वास चीन सरकारको छ । चीनले नेपाल सरकारलाई आभार ब्यक्त गर्दै उक्त बीआरआईमा गत चैतमा काठमाडौंमा भएको हस्ताक्षर कार्यावन्यनमा लौजान चीन आफ्नो तर्फबाट सक्रिय रहने बताएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ सहायक विदेशमन्त्री कुङ सेन युले बिभिन्न उच्च स्तरीय भेटवार्तामा उक्त धारणा ब्यक्त गरेका हुन् । उनले नेपाल र चीनबीच भएको बीआरआई तथा यसअघिका यातायात तथा पारवहन सम्झौता कायान्वयनमा चुनौति रहेको पनि बताएका छन् । उनले उक्त चुनौतिलाई आपसी सहकार्यमा कार्यान्वयन तहमा पुर्‍याउन चीन पूर्णत तयार रहेको ढाडस नेपाली नेतृत्वलाई दिएका छन् ।

नेपाल र चीनबीच दुईपक्षीय सम्बन्ध आपसी विश्वासमा अघि बढेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको छुट्टाछुट्टै भेटमा भने, ‘बीआरआई अगाडि बढाउने क्रममा नेपाल एक महत्वपूर्ण मुलुकको रुपमा छ । कार्यान्वयनमा नेपाल प्रतिबद्ध भएर अगाडि बढेमा हामीलाई थप सहजता हुनेछ ।’ नेपाललाई चीनले एक विश्वस्त छिमेकीको रुपमा निकै महत्व दिएको र यही वर्ष नेपालतर्फ चीनबाट उच्चस्तरको भ्रमण गराउन प्रयास भइरहेको समेत उनले बताए ।

परराष्ट्र स्रोतको अनुसार यो भ्रमण नै उच्चस्तरको भ्रमणको एक प्रकारको प्रारम्भिक भ्रमण हो । ‘यही भ्रमणले दिएको प्रतिवेदनको आधारमा अर्को टोली आउने र आगामी उच्चस्तरको भ्रमण तय गर्नेछ ।’ सरकारले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवहन तथा यातायात, बीआरआई, क्रस बोर्डर इकोनोमी जोनलगायतको सम्झौता तत्काल कार्यान्वयनमा लैजान र त्यसको अध्ययन गर्न छुट्टाछुट्टै संयन्त्र नै बनाउने भएको परराष्ट्र अधिकारीहरुले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्