Logo

नारायणगढ–मुग्लिन सडक-त्रासद यात्रा, बेखबर राज्य



काठमाडौं १० असार । ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक यात्रुले सञ्चालकलाई छेड हाने ।

ती यात्रुको विश्वास जाम छैन केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला । हामी चढेको गाडी कटारीसम्म पुग्ने भए पनि धेरै यात्रु, चितवन, पर्सा र भण्डारातिरकै थिए । ‘अब एकडेढ घन्टामा आइपुगिन्छ, खाना बनाउने सुरसार गरे हुन्छ’, एक यात्रुले राति १० बजेतिर कुरिनटारबाट घरमा फोन गरे । ‘कुहिएको खाना खानुभन्दा घरमा पुगेर फ्रेस खाने नि’, उनले भने।

मुग्लिङ कट्दा रातिको १०.२० जति बजेको हुँदो हो । नारायणगढतर्फ लाग्नासाथ बायाँतिर भीमकाय पहाड र दायाँतर्फ त्रिशूली खोला पारेर बस गुडाउनुपर्छ । त्यसमाथि ठाउँठाउँमा झरिरहने साना पहिरा र विस्तारका लागि काटिएका डाँडाले यो बाटो झन् डरलाग्दो बनाएको छ । यात्रु पनि केही नभई पुग्न पाए भन्दै भगवान् पुर्काछन्।
मुग्लिनबाट नारायणगढतर्फ २ किलोमिटर अघि बढ्दा खहरे खोला आउँछ । त्यो खोला नजिक पुगेपछि हाम्रो गाडी अचानक रोकियो । पहिरो झरिरहेको छ भन्दै केही गाडी फर्किन थाले । कोही यात्रु गाडी छोडेर आएको भन्दै दौडिँदै थिए।

पानी परेर भर्खरै रोकिएको खाल्टाखुल्टीमा जमेको पानीबाट सहजै अनुमान गर्न सकिन्थ्यो । पानी परेको थाहा पाएपछि यात्रुमा झन् त्रास बढ्यो । गाडी रोकिएका कारण हेडलाइटको उज्यालोसमेत थिएन । ठूला डाँडाको बीचको सडक पुरै अन्धकार थियो ।

हाम्रो गाडी रोकिएको ठाउँबाट पहिरो गएको स्थल टाढा नभए पनि वर्षासँगै पहाडबाट ढुंगा खसिरहेकाले बुझ्न जाने सम्भावना थिएन् । अधिकांश गाडीका यात्रुले चालकलाई मुग्लिन बजार वा अन्यत्र सुरक्षित स्थलमा लगेर छाडिदिन अनुनय गरे तर चालक डराए । ‘झन् माथिबाट पहिरो झरेर किचे के हुन्छ कम्तीमा माथि रुख त छन् । यही नै बच्ने सम्भावना बढी हुन्छ’, चालकले गाडी नफर्काउने संकेत गर्दै भने । पहिरो हेरेर फर्किएका केही यात्रुले चारकिलो र कालीखोलामा पनि पहिरो गएकाले कम्तीमा पनि भोलिपल्ट (शुक्रबार) १२ बजेसम्म सडक नखुल्ने अनुमान सुनाए । त्यसपछि केही यात्रु सुरक्षित गन्तव्यको खोजीमा लागे भने केही जोखिम मोलेरै गाडीमा बसे ।

बिरामी बोकेका एम्बुलेन्स पनि अगाडी बढ्ने सम्भावना थिएन । धेरै यात्रु रोकिएका गाडीमा बसेर बाटो खुल्ने पर्खाइमा बसे । यात्रुमा तत्काल डोजर आउला र पहिरो पन्छाउला भन्ने आस थियो । एउटा बिग्रिएको डोजर लरीमा हालेर मर्मतका लागि लैजाने तयारी अवस्थामा थियो तर त्यहाँ पहिरो खुलाउने डोजर थिएन् ।

केहीबेर थामिएको वर्षा फेरि दर्कन थाल्यो । यात्रु भगवान् सम्झिँदै गाडीमै उक्लिए । पानीसँगै माथिबाट ढुंगा खस्न थाले । तल त्रिशूली नदी, सडक भासिने डर पनि त्यत्तिकै थियो । मध्यरात भइसकेको थियो । गाडी मुग्लिङतिर फर्काउने अवस्था र ठाउँसमेत थिएन । चालकले न परिस्थितिलाई गम्भीरतापूर्वक लिए न चालकलाई सुरक्षित स्थानमा पुर्‍याएर राख्नुपर्छ भन्ने संवेदनशीलता देखाए ।

गाडीमा भएका यात्रु डराइरहेका थिए । राति १२ः३० बजेतिर एउटा प्रहरीको गाडी साइरन बजाउँदै पहिरो स्थलतिर बढ्यो । चालकसहित चार प्रहरी गएको गाडी पहिरोमा पुरिएछ । यो खबर अलि ढिला मात्रै थाहा भयो । प्रहरीको गाडी हराएपछि डोजर र सुरक्षाकर्मी घटनास्थल पुगे । गाडीका यात्रु यी सबै घटनाप्रति बेखबर थिए । ‘ढुंगा आयो, पहिरो झर्यो, भासियो भागभाग’ भनेको मात्रै कानमा दोहोरिरहन्थ्यो । दुई वा समूहमा बसेकाहरू भगवान् सम्झिँदै ‘साइत बिग्रिएछ’, ‘कस्तो दशा’ जस्ता शब्द दोहोर्‍याउँदै राति यात्रा गरेकोमा पश्चाताप साटासाट गरिरहेका थिए । कोही प्लास्टिक ओडेर ओत लाग्ने ठाउँको खोजीमा देखिन्थे । कोही खाने कुराको खोजीमा । नजिकै भएका साना पसल केही बन्द भइसकेका थिए भने खुलेकामा पनि खानेकुरा सकिइसकेको थियो । खाना पाइए पनि छोइनसक्नु महंगो । फोनको टावर पनि कमजोर भयो । त्यत्तिकैमा कसैले भन्यो– एउटा टावर पहिरोमा पुरियो रे ।

मध्यरातमा पहिरो पन्छाउन डोजर चलाउन पनि सम्भव थिएन । निरन्तर पहिरो झरिरहेको थियो । गाडीभित्रका साना ननीहरू भोक र गर्मीले रोइरहेका थिए ।

‘रातभर त्रासमै बित्यो,’ १ बजेतिर भेटिएका आकाश पालले भने ।

धेरै यात्रु स्थानीय निर्वाचनमा मत हाल्न जान लागेका थिए । केही विवाहमा जान लागेका त केही राजधानीबाट घर फर्कंदै थए । ‘दिनभरि सडक जाम हुन्छ, राति हुन्न भनेर आएको त झन् फसियो,’ चितवनको रमेश श्रेष्ठले भने ।

अलि सुरक्षित लाग्ने जस्तो ठाउँमा यात्रु जम्मा भएर बसेका थिए । राति साढे १ बजेतिर पानी केही रोकिएपछि केही यात्रु ढुंगा छल्दै मुग्लिनतिर लागे । मुग्लिनमा एउटै कोठामा १२ जनासम्म बसेर रात काट्नुप¥यो ।
शुक्रबार बिहान पानी कम भए पनि सानासाना पहिरो खस्ने क्रम रोकिएको थिएन् । घाम चर्किन थालेपछि चारवटा डोजरले ठूला दुईटा पहिरोलाई दुईतिरबाट पन्छाउन थाले पनि माथिबाट खस्न रोकिएको थिएन् । एक हुल प्रहरी र सैनिक नदी किनारामा भेटिएका शव सेतो कपडामा बेर्दै थिए । हराएको प्रहरीको गाडीको कुनै निसानासमेत थिएन् ।

सुरक्षाकर्मीले पहिरो पन्छाउन दिनभर लाग्ने बताए पनि नजिक घर भएका यात्रुले हिँडेरै बाटो छिचोल्न खोजे । पहिरो क्षेत्र कटे पनि अर्कोतर्फ गए केही न केही उपाय लाग्ला भनेर थुपै यात्रु झोला र बालबालिका बोकेर कालीखोलाको चेपाङ गाउँ उक्लिएर पहिरो क्षेत्र पार गर्दै थिए । भिरालो र अप्ठेरो बाटो थियो, भासिएर पहिरो रहेको ठाउँसम्मै खसिने त्रास रहे पनि यात्रु भगवान् भरोसा राखेर लम्किरहेका थिए ।
पहिरोको जोखिमकै कारण दासढुंगा, जलवीरे, टिकौलीबाट गाडी अगाडी बढाउन सुरक्षाकर्मीले रोकेका थिए । ‘रातभर निद्रा लागेन दुईदिन भयो खाना नखाएको अब मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै’ ट्रकमा खाना बनाउँदै गरेका सुरेन्द्र दासले भने ।

राजमार्गको यात्रा अनिश्चित हुन थालेपछि अधिकांश ट्रकका चालकले ग्यासचुलो, पकाउने भाडा र अन्न बोकेर हिँड्न थालेका छन् । पहिरोमा फसेका यात्रुले बिहान १२ बजेसम्म पानीसमेत खान नपाएको सुनाए रातिदेखि उद्धारमा खटिएको सुरक्षाकर्मी र कर्मचारीको पनि उही हाल थियो ।

यात्रुको आक्रोश सरकारप्रति
अढाई वर्षअघि थालेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य नसकिनुमा यात्रुले सरकारलाई दोषी बताइरहेका थिए । ‘न नेता यो बाटो हिँड्छन न अरु ठूला मान्छे, उनीहरूलाई पब्लिकले पाएको हैरानीमा ध्यानै छैन’, बझाङमा निर्वाचन गराउन हिँडेका बताउने एक कर्मचारीले भने । ‘यस्तो महŒवपूर्ण सडकमा २०÷२५ जना मात्रै कामदार कार्यरत देखिन्छन्’। सप्तरीका ध्रुवप्रसादले प्रधानमन्त्री र गृहमन्त्रीलाई कम्तीमा एकपटक यो सडक अवलोकन गरिदिन आग्रह गर्दै भने, ‘हजाराैं यात्रुलाई रोकेर दुईतीन जनाले एउटा ढुंगा धकेलिरहेका हुन्छन् । यसैले काम सुस्त छ ।’

ती कर्मचारीको नजिकै रहेका अर्का युवक सौजन्य शर्माले थपे, ‘त्यो संसद्को विकास समिति भन्ने छ नि, त्यसका मान्छे पनि यहाँ आएको पाइएको छैन ।’ उनले यति ठूलो विपत्तिमा यात्रु पर्दासमेत राज्यले निश्चित गन्तव्यमा पुर्याउन सहयोग नगरेको भन्दै दुःखेसो पोखे ।



प्रतिक्रिया दिनुहोस्