Logo

भरतपुरको च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने



काठमाडौं १२ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो ।

सहायक मतदान अधिकृत गम्भीर घिमिरेकाअनुसार बिहान ८ः१५ को जहाजमा सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, स्थगित मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र हेरेर पुनः पठाइएको प्रतिवेदनसँगै पठाइने छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सर्वाेच्च अदालतको आदेशअनुसार तोकिएको समयमा सबै कागजपत्र पठाइने बताउनुभयो । सर्वाेच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग मागेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सँगै पठाइने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सर्वाेच्च अदालतले मागे अनुरुपका प्रहरीले दिएका सबै प्रतिवेदन मङ्गलबार नै पठाइने बताउनुभयो ।

सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन यही असार ६ गते आदेश दिएको थियो । कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको थियो । फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन मङ्गलबार कागजपत्र पठाउन लागिएको हो ।

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्च अदालतमा पुगेको हो । महानगरपालिकाका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ भने १९ को मतगणना अन्योलमा छ । वडा नं २० को मतगणना भने बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्