Logo

दोस्रो चरणमा क–कसले कति सिट जित्छन ?



काठमाडौं १५ असार ।  प्रदेश १, ५ र ७ स्थित ३३४ स्थानमा आज सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले नै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रक्षेपण नीजि क्षेत्रबाट सञ्चालित ब्यावसायिक टेलिभिजन एबीसीले गरेको छ । कांग्रेस निकट पत्रकार डा. सुरेश आचार्य समाचार प्रमुख रहनुभएको सो टेलिभिजनले स्थानीय मतदाताको भनाईको आधारमा सो निश्कर्ष सुनाएको हो ।

पहिलो चरणको निर्वाचनमा सतप्रतिशत मिलाएको सो टीभीले आज मतदान सकिएलगत्तै दोस्रो चरणको स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गर्दै ३ सय ३४ स्थानीय तहमध्ये एमाले १ सय ४३ स्थानका साथ पहिलो स्थानमा आउने बताएको हो । उस्को एक्जीट पोलअनुसार तीन वटै प्रदेशमा नेकपा एमाले १४३, नेपाली काँग्रेस १०७, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ८, नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी हुनेछन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएको राष्ट्रिय जनता पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा दुईरदुई स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी हुने अनुमान गरिएकोमा २२ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसीको एक्जीट पोल अनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले ६६, नेपाली काँग्रेस ४७ र नेकपा माओवादी केन्द्र ५, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नेपाल लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ५ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । एक नम्बर प्रदेशमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हने छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले जित्ने आंकलन गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ मा नेकपा एमाले ३९, नेपाली कांग्रेस ३२, माओवादी केन्द्र २१ स्थानमा विजयी हुने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टीका उम्मेदवार ८ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ भने २ स्थानमा राष्ट्रिय जनमोर्चा, ३ स्थानमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति विजयी हुने प्रक्षेपण गरिएको छ । पाँच नम्बर प्रदेशका ४ स्थानीय तहमा भने तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार ७ नम्बर प्रदेशमा नेकपा एमाले ३८, नेपाली कांग्रेसले २८, माओवादी केन्द्र ९ स्थानमा विजयी हुनेछन् । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा विजयी हुने आंकलन गरिएको छ भने ११ स्थानमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

एबीसी टीभीले राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे, राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, एबीसी न्यूजका अध्यक्ष शुभशंकर कँडेल र एबीसी न्यूजका न्यूज एण्ड करेन्ट अफेयर्स डाइरेक्टर डा. सुरेश आचार्य सहभागी गराई एक्जीट पोल सार्वजनिक गरेको थियो ।

तीब्र प्रतिष्पर्धा हुने भनिएको २२ स्थानमा पनि एमाले नै बिजयी हुने सो टेलिभिजनको प्रक्षेपण रहेको छ । सो टीभीका सञ्चालक शुभशंकर कँडेल हुनुहुन्छ भने समाचार प्रमुखका रुपमा कांग्रेस निकट पत्रकार डा. सुरेश आचार्य हुनुहुन्छ ।जनता टाइम्सबाट



प्रतिक्रिया दिनुहोस्