Logo

बाढीले तिलाठीमा १५ सय बढी घर डुबायो



काठमाडौं १८ असार ।
शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।

कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो । उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो । शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाए ।

 

शनिबार बिहानसम्म निरन्तर भएको थियो । बाढीले सयौं घर बगाएको एसपी अनुराग द्विवेदीले बताए । उनका अनुसार महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन् । रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको द्विवेदीले जनाए । रूपनी गाउँपालिकाअन्तर्गत पौवामा स्थानीय मनोज यादवको ५ सय कुखुरासहितको फर्म खाडो खोलाले बगाएको छ ।

तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ । तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ । आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए ।

 

खाडोखोलाको बाढीका कारण डुबानमा परेको तिलाठी स्वास्थ्य चोकी ।
कञ्चनरूप नगरपालिका–१ रघुनाथपुरका अवधी यादव, देवु यादव र राजकुमार यादवका ४ वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत तिलाठीस्थित बेल्ही भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट डुबानमा परेको छ । घरभित्र २–३ फिट पानी पस्दा खाना बनाउन नपाएको स्थानीय बाबुनारायण मिश्रले बताए । ‘घरभित्रै पानी बगिरहेको छ, चुल्होमाथि समेत पानी छ, कसरी पकाउनु खानेकुरा ?’ उनले भने, ‘खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ ।’

सदरमुकाम राजविराज नगरपालिकाको डुमरी शिवथान, मधवापुर, मयनाकरेडी, रायपुरको पौवाटोल, पोर्ताहा, मलेठलगायत स्थानमा पनि कैयौं घरभित्र पानी पसेको छ । बाढी पसेका घरबाट खाद्यान्नसमेत बगाएको छ । एसपी द्विवेदीले बाढीका कारण जिल्लाका एक हजार ५ सय घर डुबानमा परेको बताए । ‘प्रारम्भिक तथ्यांकले एक हजार ५ सय घर डुबानमा परेको जानकारी आएको छ,’ उनले भने, ‘बाढीबाट भएको डुबान, कटान र क्षतिको विवरण संकलन भइरहेको छ ।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्