Logo

ज्ञानेन्द्रको जन्मदिनमा शुभकामना दिन जुलुस निकालिने



काठमाण्डौ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउँदैछन् । शाहले जन्मदिनका अवसरमा निर्मल निवास महाराजगंजमा आफन्त तथा शुभचिन्तकलाई निम्तो नै दिएर जन्मदिन मनाउन लागेका हुन् । शुक्रबारबाट ७० वर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ । बिहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम समते तय भएको छ । भद्रकाली, जीवनकुञ्ज, शिक्षण अस्तपाललगायत विभिन्न स्थानबाट जुलुससहित शुभकामना दिन निर्मल निवास आउने कार्यक्रम रहेको छ ।

हनुमानढोकाबाट राष्ट्रिय पोषाकसहित झन्डा बोकेका युवा समूहले पूर्वराजालाई झण्डा उपहार दिने कार्यक्रम तय भएको छ । यसैबीच पूर्वराजाले आफू ७० वर्ष पुगेको अवसरमा २ दिन भोज दिने कार्यक्रम रहेको छ । शनिबार वा आइतबार अन्नपूर्ण होटलमा र ३० गते निर्मल निवासमा आफन्त र परिवारलाई रात्री भोज दिने भएका छन् ।

नेपाल समाचारपत्रमा आज प्रकाशित खबर



प्रतिक्रिया दिनुहोस्