Logo

वर्षाले अति प्रभावित उपत्यकाका सडकहरु



असार २३, काठमाण्डौ
घाम र पानी दुवै सहन नसक्ने राजधानी क्षेत्र अहिले वर्षादको पिडा खेपिरहेको छ । अस्तव्यस्त सडक र ढल–पानी निकासको उचित व्यवस्था नहुँदा एकैछिन पानी परे पनि सडक र सवारी भद्रगोल हुने गरेको छ ।

उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी प¥यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ । मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा एक दर्जनभन्दा बढी ठाउँमा ढलको पानी सडकमा आएर डुबान हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यी सडकहरू बढी डुबानमा पर्छन्
पुतलीसडक, जमल, थापाथली, त्रिपुरेश्वर, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गोपीकृष्ण, बालाजु, तिनकुने, कलंकीदेखि नागढुंगासम्मको सडक,भोटेबहाल र मैतीदेवी क्षेत्र धेरै डुबानमा पर्ने खडकखण्ड भएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुुसुदन सिलवालले बताए ।

‘सडक डुबानमा परेपछि मोटरसाइकल तथा साना सवारीसाधन खाल्डोखुल्डीमा पर्ला भनेर त्यो बाटोको प्रयोग गर्दैनन,’ सिलवालले भने, ‘त्यसले थप ट्राफिक समस्या निम्त्याउँछ ।’ ढलको सरसफाइ र मेलम्चीको समस्या समाधान नभएसम्म यो समस्याबाट चाँडै छुटकारा नपाइने उनले बताए । मेलम्चीको पाइप ओछ्याउन उपत्यकामा २५ देखि ३० ठाउँमा खनेका ठुल्ठूला खाल्डाले झन् समस्या आएको ट्राफिक महाशाखाले जनाएको छ । खाल्डामा पानी जम्मा भएपछि सवारीचालकले अर्को रुट प्रयोग गर्दा जाम बढ्ने र त्यसको असर सबैतिर पर्ने गरेको प्रहरी निरीक्षक सिलवालले बताए ।



प्रतिक्रिया दिनुहोस्