Logo

१० वर्ष कुवेतको जेल बसेर फर्किइन् डोल्मा



काठमाडौं २५ असार ।
रोजीरोटीको मीठो सपना लिएर १२ वर्षअघि कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा जेलनेलको लामो सजाय बेहोर्दै शनिबार साँझ घर फर्केकी छन् । ‘सानो छोरा र श्रीमानलाई घर छाडेर कुवेत गएकी थिएँ, सबै कुरा आफूले भनेजस्तो कसको हुन्छ र ?’,एक फिलिपिनो सहकर्मीको हत्याको आरोपमा १० वर्ष लामो जेल सजाय बेहोर्दै घरफिर्ती केन्द्र (डिपोर्टसेन सेन्टर) बाट घर फर्किएकी ३८ वर्षिया डोल्माले सुनाइन, ‘जसरी भएपनि घर फर्कन पाएँ, म अत्यन्त खुशी छु, इन्साल्ला…।’

डोल्मालाई लिन उनका भाइ शेराब लामा बिमानस्थल पुगेका थिए । खाडी मुलुकमा रोजीरोटीको सपनामयी योजना लिएर कुवेत पुगेकी सिन्धुपाल्चोक, क्यानसिङकी डोल्माका श्रीमान आङ तेन्जि शेर्पा अहिले रोजगारीकै क्रममा इराक पुगेका छन् भने उनका एक छोरा आफन्तको सहयोगमा काठमाडौंको बिद्यालयमा अध्यनरत छन् ।

कुवेतमा डोल्मा प्रकरणको चर्चा सुरु भएलगत्तै खाडी मुलुकमा जाने नेपाली महिला कामदारको स्थिति र सरोकारमा बढी नै आवाज उठ्न थालेको हो । बिशेषत घरेलु काममा खाडी मुलुकमा महिलालाई पठाउनु हुन्न भन्ने पक्षमा सरकारी र गैरसरकारी तहमा बहस चलिरहेको भएपनि यो बिषय अझै ‘अनिर्णित’ छ । १० बर्ष लामो जेल सजायको अवधी यो जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रकृया (डिर्पोटेसन) केन्द्रमा राखेको थियो ।

२००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रुपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रुपान्तरण भएको थियो । इस्लामिक कानूनअनुसार पीडित परिवारले ‘ब्लड मनी’ (क्षतिपूर्ति) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाह भएको थियो । सहमति अनुसारको १० हजार डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बीउ पैसा’ राखेर बााकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्