Logo

जिल्ला प्रशासन कार्यालय भवन निर्माण



गोरखा, २९ असार । भूकम्पले जीर्ण भवन भत्केपछि बहाल तिरेर निजी घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय दुई वर्षपछि आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

रु तीन करोड ६० लाख ९८ हजारको लगानीमा थानी निर्माण सेवाले सुविधा सम्पन्न तीनतले भवन निर्माण गरेपछि प्रशासन आफ्नै भवनमा सरेको हो ।

आजदेखि पूर्णरुपमा नयाँ भवनबाट सेवाग्राहीका कामकाज गरिने सहायक प्रमुख जिल्ला अधिकारी, केशवराज शर्माले जानकारी दिनुभयो । छ महिना नाकाबन्दीका कारणले निर्माण सामग्रीको अभाव झेल्नुपर्दा भवन निर्माणमा केही ढिलाइ भएको निर्माण व्यवसायी भोला मरहट्टाले बताउनुभयो ।

भूकम्पपछि कारागार छेउमा रहेको निजी घरमा प्रशासन कार्यालय सञ्चालन गर्नुपरेको थियो, जसले गर्दा बैठक कक्षलगायत नहुँदा सेवाग्राहीले समस्या झेलेका थिए । नयाँ भवनमा ठूला बैठक कक्षसहितका सुविधासम्पन्न कोठाहरु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय भवन नै अपांगमैत्री नभएको भन्दै विरोध पनि भएको छ । साथै राष्ट्रिय अनुसन्धान जिल्लास्थित कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला कृषि विकास कार्यालय, घरेलु विकास समितिको कार्यालय, प्रजिअ आवास कक्षलगायत भवन पनि निर्माणको तयारीमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्