Logo

ज्येष्ठ नागरिकलाई पशुपतिनाथ दर्शन



इलाम, ३ साउन । माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई युवा समाजसेवी सुमन श्रेष्ठले पशुपति दर्शनका लागि काठमाडौँ लैजानुभएको छ । यस वर्षको साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ दर्शन गराउने हेतुले समाजसेवी श्रेष्ठले शनिबार नै ज्येष्ठ नागरिकलाई लिएर काठमाडौँको यात्रा तय गर्नुभएको थियो ।

उहाँले वृद्धवृद्धालाई पशुपतिनाथको दर्शन गराइरहनुभएको छ । आश्रममा रहेका आठजना ज्येष्ठ नागरिक र दुईजना सहयोगी र आफैँ गरी ११ जनाको टोली शनिबार काठमाडौँ प्रस्थान गरेको थियो ।

पशुपतिनाथ दर्शन गर्न जान पाउँदा ज्येष्ठ नागरिक उत्साहित भएका छन् । ज्येष्ठ नागरिकलाई यसअघि नै हेलिकप्टर चढाएर ताप्लेजुङको पाथीभरा दर्शन गराएपछि पशुपतिनाथ दर्शन गराउने श्रेष्ठले यसअघि नै वृद्धवृद्धालाई प्रतिबद्धता जनाउनुभएको थियो ।

पशुपतिनाथ दर्शन गर्न पाउँदा हर्षित हुँदै १२ वर्षदेखि आश्रममा बस्दै आउनुभएकी ७९ वर्षीया देवकुमारी घिमिरेले भन्नुभयो – “सुमन हाम्रा लागि भगवान्सरह हुनुहुन्छ, छोराछोरीले गर्नुपर्ने कर्तव्य आज उहाँले गर्नुभयो ।” ज्येष्ठ नागरिकले पशुपति दर्शन गर्न जान पाउनु अहोभाग्य भएको प्रतिक्रिया दिनुभयो । श्रेष्ठले आफ्नै खर्चमा ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउनुभएको हो ।

ज्येष्ठ नागरिकको सेवामा आफूलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै श्रेष्ठले भन्नुभयो – “ज्येष्ठ नागरिकको सेवामा जीवन समर्पण गर्नुपरे नि पछि हट्दिनँ ।” सामाजिक काममा सधैँ अग्रसर रहने श्रेष्ठले विभिन्न सेवामूलक कार्यसमेत गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्