Logo

व्यावसायिक फोटो पत्रकारिता तालीम शुरु



भक्तपुर, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ ।

मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको सो तालीम आज एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुव आलेले शुभारम्भ गर्नुभयो ।

उहाँले राजधानीमा मात्रै नभई जिल्लामा पनि फोटो पत्रकारको महत्व रहने भएकाले जिल्लाका पत्रकारलाई यस प्रकारको तालीमले अब्बल बनाउन मद्दत पुग्ने बताउनुभयो ।

अध्यक्ष आलेले भन्नुभयो– “राजधानीका फोटो पत्रकारको अहंमलाई जिल्लाका पत्रकारले तोड्नु पर्छ, जिल्लाका पत्रकारले पनि राजधानीका फोटो पत्रकारभन्दा राम्रा तस्बिर खिच्न सक्छन् भन्ने देखाउनु पर्छ ।”

फोटो पत्रकारले कहिल्यै पनि बेरोजगार बस्नु नपर्ने र फोटो पत्रकारिताको प्रशिक्षकसमेत अभाव रहेको अवस्थामा यस्ता तालीम प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले फेसबुके फोटो पत्रकारितालाई चिर्दै सभ्य दृष्टिकोणले फोटो पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा बंगलादेशबाट आएका क्याननका बजार व्यवस्थापक सुनिल त्रिभेदीले क्यामरा बोक्दैमा अटोमा राखेर फोटो खिच्नेहरु फोटो पत्रकार बन्न नसक्ने बताउनुभयो ।

प्रशिक्षक मधुसुदन थापाले भविश्य उज्ज्वल पार्न पूर्ण रुपमा फोटो पत्रकार हुनु पर्नेमा जोड दिनुभयो ।
एफएनपिजे भक्तपुर शाखा अध्यक्ष रत्नकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो तालीममा २० प्रशिक्षार्थीको सहभागिता छ । रासस



प्रतिक्रिया दिनुहोस्