Logo

यी हुन कांग्रेसबाट प्रधानमन्त्री देउवाका नयाँ सारथी



काठमाडौं ११ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि उनले १९ जना सदस्य थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

२३ जेठमा प्रधानमन्त्री भएका उनले मन्त्रिमण्डल बिस्तार नगरेपछि चर्काे आलोचना खेप्दै आएका थिए । नवनियुक्त मन्त्रीहरुले आज बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

यी हुन् नवनियुक्त मन्त्रीहरु :

नेपाल कांग्रेसबाट 

भीमसेनदास प्रधान: रक्षा
वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात
यज्ञबहादुर थापा : कानुन
मीन विश्वकर्मा : वाणिज्य
मोहन बस्नेत : सूचना तथा सञ्चार
सञ्जय गौतम : सिँचाई
रामकृष्ण यादव : कृषि
राजन केसी : युवा तथा खेलकुद
अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव : खानेपानी तथा सरसफाई

प्रदेश नम्बर ३ अन्तरगत काठमाडौं जिल्लाबाट मात्रै ३ जना मन्त्री भएका छन् । राजेन्द्रकुमार (राजन) केसी, रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका छन् । भीमसेन दास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट र अम्बिका बस्नेत देउवा समूहबाट मन्त्री बनेका छन् ।

प्रदेश ३ कै सिन्धुपाल्चोकका मोहन बस्नेत खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका छन् ।

भीमसेनदास प्रधानः रक्षामन्त्री

काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान सक्रिय राजनीतिमा लाग्नु अघि प्राध्यापक थिए । उनी नेपाल प्राध्यापक संघका पूर्व सभापति हुन् ।पहिलो संविधानसभा चुनावमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका प्रधान ०७० सालमा एमालेका युवा नेता योगेश भट्टराईलाई पराजित गरेर सांसद भएका हुन् ।

महेन्द्र यादवः खानेपानी तथा सरसफाइ मन्त्री

 

महेन्द्र यादव समानुपातिक सांसद हुन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका यादव कांग्रेस विभाजनपछि प्रजातान्त्रिकमा लागे । उनले सोही बेला तरुण दलको अध्यक्षमा खुमबहादुर पक्षका शंकर भण्डारीलाई पराजित गरेका थिए । त्यसअघि उनी नेविसंघको उपाध्यक्ष पनि थिए । हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् ।

यज्ञबहादुर थापाः कानून मन्त्री

कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञवहादुर थापा ०४९ सालको स्थानीय चुनावमा थापा कास्की जिल्ला विकास समितिको उपसभापति भएका थिए । त्यसबेला थापा आफ्नै सभापतिमाथि मुक्का बर्साएर चर्चामा आएका थिए ।

वीरबहादुर बलायरः भौतिक पूर्वाधार मन्त्री

वीरवहादुर बलायर डोटीको लाटामाडौंमा ०२२ साल भदौ ४ गते जन्मेका बलायर गणितका विद्यार्थी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वासपात्र रहेकाले बलायरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मोहनबहादुर बस्नेतः सूचना तथा सञ्चारमन्त्री

कांग्रेस नेता तथा सांसद मोहनबहादुर बस्नेत मार्सल आर्टका खेलाडीसमेत हुन् । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय भएका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसदको टिकट पाएका थिए । ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद भए ।

 

मीनबहादुर विश्वकर्माः वाणिज्य मन्त्री

नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद हुन् । पौडेल बाहुनकी छोरीसँग विवाह बन्धनमा बाँधिएका मन्त्री विश्वकर्माका एक छोरा र एक छोरी छन् । मीनबहादुर विश्वकर्मा कुनैबेला कम्युनिस्ट थिए । विद्यार्थीकालमा उनी सुनसरीमा अखिलका नेताका रुपमा चिनिन्थे ।

रामकृष्ण यादवः कृषि मन्त्री

धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद  रामकृष्ण यादव कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका छन् ।  पहिलो व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापति थिए । मन्त्री यादवको जन्म ०१९ साल जेठमा धनुषाको औरहीमा भएको हो । २०२९ सालदेखि राजनीतिमा सकृय मन्त्री यादवका एक छोरा र तीन छोरी छन् ।

अम्बिका बस्नेतः सहकारी तथा गरिबी निवारण मन्त्री

विसं. २००७ सालमा काठमाडौंमा जन्मेकी अम्बिका बस्नेत कोइराला परिवारकी सदस्य हुन् । तर, पछिल्लो समय देउवा शक्तिमा आउन थालेपछि अम्बिका देउवा गुटमा सामेल भएकी थिइन् । बस्नेत ०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी थिइन् ।

राजेन्द्र कुमार केसीः खेलकुद मन्त्री

माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० मा पराजित गरेर राष्ट्रिय चर्चामा आएका सांसद राजेन्द्र केसी विसंं ०१५ सालमा कीर्तिपुरमा जन्मेका हुन् । । उनका एक छोरा र २ छोरी छन् । उनी ०४० सालदेखि राजनीतिमा लागेका हुन् ।

सञ्जय गौतमः सिँचाइमन्त्री

बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद सञ्जय गौतम बर्दियामा कांग्रेस जिल्ला सभापतिका रुपमा लामो समय काम गरेका गौतम ०७० सालमा मात्रै चुनाव जित्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्