बेनी म्याग्दी, २० साउन । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ कोटबाट खसेको पहिरोले थुनिएको मराङ ठूलोखोला प्राकृतिक रुपमा नै खुलेको छ ।
छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीवार दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारणसमेत त्रसित भएका थिए ।
स्थानीयवासी गमबहादुर गर्बुजाले दिएको जानकारीअनुसार पहिरोले मराङ लघुजलविद्युत्को कुलोमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करिब २० रोपनी खेतीयोग्य जमिन बगाएको छ ।
“पहिरोले थुनिएको खोला बिस्तारै खुल्यो, अहिले खतरामुक्त छ”, गर्बुजाले भन्नुभयो । उहाँका अनुसार बुधबार र बिहीबार पहिरोको कारण पश्चिम म्याग्दीको जनजीवन प्रभावित बनेको थियो ।
बर्खाको समयमा खोला थुनिएको हल्ला चलेपछि दरवाङवासीसमेत त्रसित भएका थिए । खोलाको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले थुनिएको मराङ खोलाको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय दरवाङबाट समेत प्रहरीको टोली खटिएको थियो । थुनिएको खोला बिस्तारै खुलेपछि जोखिम टरेको थियो । खोला खुलेसँगै तटीय क्षेत्रमा त्रसित अवस्थामा रहेका सर्वसाधारण घर फर्किएका छन् ।
यसैबीच, बिहीबार जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बेनी नगरपालिका–१० पात्लेखेतमा पहिरोले पुगेको क्षतिको स्थलगत अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । रासस