Logo

म बुवा प्रचण्डका कारण होइन-आफ्नै क्षमताले मेयर भएकी हुँ : रेणु दाहाल



काठमाडौं २२ साउन । भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेकी छिन् । विजयी भएपछि नेपाली रेडियो नेववर्कमा पत्रकार ऋषि धमलासँग कुराकनी गर्दै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’

दाहालले आफु आफ्नो क्षमताले जितेको बताइन । धमलाको प्रश्नमा उनले भनिन ‘मैले बुवाको कारणले मात्रै चुनाव जितेकी होइन, मेरो लगानी, क्षमताले मैले जितेकी हुँ । बुवाको कारणले केही सहज भएको होला तर त्यही कारणले चुनाव जितेको गलत हो । ’ तपाई प्रचण्डको उत्तराधिकारी हो ? भन्ने प्रश्नमा उनले म प्रचण्डको उत्तराधिकारी हो की होइन भन्ने कुरा म समय निर्धारण गर्नेछ ।

मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी छिन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’ दाहालले ठूलो जिम्मेवारी बोध भएको बताउदै आफूले निर्वाचनको प्रचारको समयमा अघि सारेका प्रतिबद्धता पूरा गरेर छोड्ने घोषणा गरेकी छिन् । ‘भरतपुर महानगरको मेयरमा विजयी हुँदा ठूलो जिम्मेवारी बोध भएको छ । मलाई विजयी गराउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

दाहालले भरतपुरलाई समृद्ध महानगरपालिका बनाउने घोषणा समेत गरेकी छिन् । उनले आफ्नो जितका निम्ति मिडियाले खेलेको भूमिकाप्रति समेत विशेष आभार व्यक्त गरिन्।
‘यो रेणु दाहालको मात्र जित होइन समग्र भरतपुरका बासिन्दाको जित हो’, दाहालले भनिन्, ‘भरतपुर मेयरमा मात्र होइन उपमेयर समेत महिलाकै जित भएको छ, हामी देशकै नमुना महानगरपालिका बनाउने छौँ ।’



प्रतिक्रिया दिनुहोस्