लुम्बिनी, २५ साउन । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ ।
जिल्लामा आव २०७१-७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२÷७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आव २०७३-७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ ।
ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ । हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।
आव २०७१-७२ मा ८६, आव २०७२-७३ मा १४० र आव २०७३-७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए ।
पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ ।
दुर्घटनामा चालकको गल्ती बढी
जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरी निरीक्षक बस्नेतका अनुसार चालकको लापरबाहीका कारण १५९ वटा सवारी साधन दुर्घटना भएका छन् ।
त्यस्तैगरी तीव्र गतिका कारण ६८, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा छ, उछिन्दा चार, यान्त्रिक गडबडी ९ब्रेकफेल, स्टेयरिग फेल जस्ता कारणले चार, यात्रुको गल्तीका कारण तीन, सडक चौपायाका कारण एक र सडकको अवस्थाले गर्दा एउटा सवारी साधन दुर्घटना भएको छ ।
मापसे गरी हाँक्ने पनि बढ्दो
रुपन्देहीमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७१-७२ मा २८६ जना, आव २०७२-७३ मा ५८२ जना र आव २०७३-७४ मा मापसेबाट एक हजार १२७ जना कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ६३६ वटा लाइसेन्समा प्वाल पारिएको छ, जसमध्ये ३१९ भैरहवा क्षेत्रका छन् भने ३१७ बुटवल क्षेत्रअन्तर्गतका हुन् ।
तीन करोड ८८ लाख राजश्व संकलन
ट्राफिक प्रहरी कार्यालयले आव २०७३÷७४ मा रु तीन करोड ८८ लाख ४४ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरीत चलेका ६६ हजार २७४ सवारी साधनलाई कारबाही गर्दा सो राजश्व संकलन भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी २१ हजार १३९ ट्रक कारबाहीमा परेका छन् जसबाट रु एक करोड २१ लाख आठ हजार ५०० राजश्व संकलन भएको छ ।
त्यसैगरी पाँच हजार ८१२ वटा बस कारबाहीमा पर्दा रु ३३ लाख ४० हजार ५००, १० हजार ६३९ साना कारजिप भ्यानबाट ५९ लाख ३६ हजार, १० हजार ९६१ वटा मोटरसाइकल र स्कुटीबाट ९१ लाख ८९ हजार ५००, ट्र्याक्टरबाट ६८ लाख ५१ हजार तथा अन्य दुई हजार २०० सवारीसाधनबाट १४ लाख २७ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । रासस