Logo

चिनियाँ उपप्रधानमन्त्री आउनु अघि भारतीय विदेशमन्त्रीको अर्थपूर्ण नेपाल भ्रमण



समाचार विश्लेषण । यो भ्रमण बिमष्टेकको विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुनका लागि भएको छ तर भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि भ्रमणको बहुउद्देश्य र विशेष महत्वको हुनेछ । बिहिबार त्रिभुवन विमानस्थलमा विशेष विमानबाट ओर्लिएलगत्तै स्वराज व्यस्त कार्यसूची अनुसार भेटघाटमा व्यस्त भइसकिन् ।

स्वराज यस्तो समयमा नेपाल आएकी छिन् जुन बेला भारत र चीनबीच दोक्लामको सवालमा तनाव उत्पन्न भएको छ । चीन र भुटानबीचको सीमाको मामलामा भारतले चासो दिएको भन्दै चीन असन्तुष्ट छ । उसको विदेश मामलासम्बन्धि आधिकारिक धारणा आउने पत्रिका ग्लोबल टाइम्सले कालापानी र काश्मिरमा चीन प्रवेश गर्ने सम्मको आशयको धारणा सार्वजनिक गरेको छ ।

एशियाका महाशक्तिहरूको तनाव भइरहँदा स्वराजले काठमाडौंमा नेपाली उच्च अधिकारी र भुटानी अधिकारी समेतलाई प्रत्यक्ष भेट्ने अवसर पाउनेछिन् । यो उनका लागि छिमेकीलाई नजिक बनाइरहने अभ्यासको अवसर पनि हुनेछ ।

स्वारज नेपालबाट फर्केलगत्तै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउँदैछन् । ३० साउनमा हुने उनको भ्रमणलाई भारतभित्र र बाहिर समेत चासोका साथ हेरिएको छ । हल्ला नगरी काम गर्ने स्वभावका चिनियाँ अधिकारीहरूले नेपालका उच्च अधिकारीहरूलाई भेटेर दक्षिण एशियामा बढेको तनाव र आफ्नो आधिकारिक धारणाबारे समेत छलफल गर्न सक्छन् ।

चीनबाट सैन्य तहमा भ्रमण बाक्लिइरहँदा नेपालमा उत्तरको प्रभाव बढिरहेकोतर्फ भारतको चासो उत्तिकै छ । यस्तो अवस्थामा भइरहेको स्वराजको भ्रमणले विशेष अर्थ राख्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ७ भदौबाट हुने भारत भ्रमणको ठिक अगाडि स्वराज नेपाल आउने कार्यक्रम बन्यो । यो संयोग मात्र हुनसक्ला । तर, भारत भ्रमण अगावै नेपालका प्रधानमन्त्रीले आफ्नो तर्फबाट राख्ने एजेण्डाबारे समेत छलफल गर्ने अवसर पाउनेछन् ।

त्यसबाहेक दोक्लाम विषयबारे आधिकारिक धारणा प्रत्यक्ष भेटेर राख्न सक्छन् । यद्यपि, परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लाम मामलामा नेपाल मौन रहेको धारणा सार्वजनिक गरिसकेका छन् ।

स्वराज भारतको स्वतन्त्रता दिवसको पाँच दिन अगाडि नेपाल आएकी छिन् । नेपालमा भारतीय राजदूतावासले भव्य रुपमा स्वतन्त्रता दिवस मनाउने गरेको छ । नेपालका वरिष्ठ नेता देखि अधिकारीहरू भारतीय राजदूतावासद्वारा आयोजित विशेष कार्यक्रममा सहभागी हुन्छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय भारतीय राजदूतावास जाँदैनन् ।

उनलाई नजिक्याउन स्वराजले पहल गर्दै आएकी छिन् । यही भ्रमणको अवसरमा स्वराजले ओलीसँग महत्वपूर्ण वन टु वन छलफल गरेर ओलीको भारत सम्बन्धमा आइसब्रेक गर्न सक्नेछिन् । बिमष्टेक बैठकले भारतलाई छिमेकसँग सीमा र त्यस बाहिर चलिरहेका तनावपूर्ण अवस्थाबारे गम्भीर छलफल गर्ने मौका दिएको छ ।

के हो बिमष्टेक

बिमष्टेक अर्थात् बे अफ बँगाल इनिसियटिम फर मल्टी सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन बँगालको खाडीसँग भर पर्ने देशहरूको आर्थिक र प्राविधिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले ६ जुन सन् १९९७ मा थाइल्याण्डको राजधानी बैंककमा स्थापना भएको हो ।

नेपालसहित भारत, बँगलादेश, म्यानमार, श्रीलंका, भुटान र थाइल्याण्ड बिमष्टेकको सदस्य राष्ट्र हुन् । नेपाल र भुटानले सन् २००४ मा मात्र सदस्ययता प्राप्त गरेका हुन् । त्यसअघि नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुँदै आएको थियो ।

बिमष्टेकले बँगालको खाडीसँग निर्भर दक्षिण र दक्षिणपूर्वी एशियाका राष्ट्रहरूको हितलाई केन्द्रमा राखी काम गर्दै आएको छ । यसले व्यापार, लगानी, प्रविधि, पर्यटन, मानव स्रोतको विकास, कृषि, यातायात, संचारका अलावा उत्पादनको क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ ।

पालैपालो सदस्य राष्ट्रहरूले बिमष्टेकको नेतृत्व गर्ने नियम छ । जसअनुसार हाल नेपाल बिमष्टेकको अध्यक्ष छ । नेपालले बिमष्टेकको शिखर सम्मेलन आयोजना गर्ने प्रयास गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्