Logo

महाकालीमा पुलसँगै सडकका लागि १० करोड विनियोजन



भीमदत्तनगर, २६ साउन । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किमी सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ ।

गड्डाचौकीदेखि पुल निर्माणस्थलसम्म करिब सात किमी सडक चार लेनको बन्ने महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । सो सडक निर्माणका लागि करिब २५ देखि ३० बिगाहा जमिन प्रयोग गरेबापत सरकारले मुआब्जा रकम दिने तयारी गरेको छ ।

“मुआब्जाका लागि सबै प्रक्रिया भएर योजना प्रमुखलाई सोको अख्तियारसहित सदर भएर आएको छ,” महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले भन्नुभयो, “अब चाँडै फिल्ड सर्वे गरेर सडकका लागि जमिन लिने र मुआब्जा दिने काम थालिनेछ ।”

सरकारले चालू आव २०७४-७५ मा महाकाली नदीमा पुल निर्माणका लागि रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ । सोही रकममध्ये रु १० करोड रकम जमिन मुआब्जाका लागि छुट्याइएको पुल योजना प्रमुख पन्तले राससलाई जानकारी दिनुभयो ।

“दायाँ र बायाँ २५-२५ मिटर गरी ५० मिटर क्षेत्रफल सडकका लागि दिनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “जग्गा प्राप्ति ऐनअनुसार मुआब्जाको काम गरिन्छ ।” उहाँले आगामी भदौदेखि सडकका लागि मुआब्जाको काम थालिने जानकारी दिनुभयो ।

त्यसैगरी महाकाली नदीमाथि बनाइने चार लेनको पुलको ठेक्का कुमार सिएसइसी जेभीलाई परेको छ । महाकाली पुल योजनाका प्रमुख पन्तले दशैं तिहारपछि पुल निर्माणको काम शुरु हुने बताउनुभयो । “ठेक्का भएर सम्झौताका लागि प्रक्रियामा छ,” उहाँले भन्नुभयो, “ठेक्का प्रक्रियाको बाँकी काम सडक विभागले गर्दैैछ ।”

महाकालीमा रहेको वनवसा पुलदेखि झण्डै सात किमी दक्षिणतर्फ र महाकालीको दोधारा चाँदनी झोलुंगे पुलदेखि करिब अढाइ किमी उत्तरमा ८०० मिटर लामो चार लेनको पक्की पुल बन्नेछ । पुल निर्माणका लागि गत चैतमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भीमदत्तनगरमा पुल योजनाको कार्यालय स्थापना गर्नुभएको हो । रासस



प्रतिक्रिया दिनुहोस्