Logo

माओवादी केन्द्रमै क्रियाशील हुने नयाँ शक्तिका नेता झा र शर्माको प्रतिबद्धता



काठमाडौँ, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका हुन् ।

अध्यक्ष दाहाललगायतका नेताहरुसँग बिहीबार र शुक्रबार भएको निरन्तरको छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेता झाले आफू माओवादी केन्द्रमा क्रियाशील हुने बताउँदै नेकपा९एमाले० प्रवेश गर्ने भनेर चलाइएको हल्ला शतप्रतिशत गलत रहेको रासससँग भन्नुभयो ।

माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीको उचित जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उहाँहरुबीच सहमति भएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्