Logo

सुख्खा बन्दरगाहको कार्य अगाडि बढाउन अध्ययन टोलीः कञ्चनपुरमा



कञ्चनपुर, ३० साउन । महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको कार्य शुरु गरेको हो ।

सम्भाव्यता अध्ययन टोलीका प्रमुख अनिल मरासनीले बन्दरगाह निर्माणका लागि स्थलगत अध्ययनको कार्यलाई अगाडि बढाइएको बताउनुभयो । टोलीले प्रस्तावित सुख्खा बन्दरगाहबारे महाकाली नगरपालिकाका जनप्रतिनिधि र कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेको छ । छलफलका क्रममा उद्योगी व्यवसायीले तत्काल बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

टोलीले अन्य सरोकारबालासँग समेत भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । यसअघि समेत तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भारतीय अधिकारीबीच सुख्खा बन्दगाह निर्माणका लागि मस्यौदा तयार गरी बन्दरगाह निर्माण कार्य अगाडि बढाउने सहमति गरेका थिए ।

प्रारम्भिक मस्यौदामा पहिलो चरणमा खटिमादेखि भीमदत्तनगरसम्म एसियाली राजमार्ग बनाउने भारतीय सहर खटिमादेखि महाकाली पारी दोधारा चाँदनी हुँदै महेन्द्र्रनगरसम्म २५ किलोमिटर सडक बनाइने गरी मस्यौदा तयार गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्