Logo

निमार्ण भएको एकवर्षमै बबईको पुल बाढीले भत्कायो



बर्दिया, ३० साउन । बर्दियाको बबई नदीमा आएको बाढीका कारण जब्दीघाटमा निर्माण गरिएको पक्की पुल भत्किएको छ ।आइतबार बबई नदीमा आएको भिषण बाढीका कारण पुल भत्किएको हो । जब्दीघाटको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो ।

जब्दीघाट पुल १६ करोड ६८ लाख ४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको थियो । पुल सञ्चालनमा आएको वर्षदिन पनि नपुग्दै भत्किएको छ । पुलबिचको भागबाट भत्किएको छ । पुल निर्माण सम्पन्न भएलगत्तै संचालनमा आए पनि औपचारिक उद्घाटन भएको थिएन ।

पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले २०६८ असार २५ देखि निर्माण शुरु गरेको थियो । निर्माण अवधी भन्दा डेढ वर्ष ढिलो गरि पुल सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । तर सुनुवाई भएको थिएन ।

पुल भत्किएपछि आवागमन ठप्प भएको छ । पुल भएर सदरमुकामदेखि पुर्वपश्चिम राजमार्ग छोटो समयमा पुग्न सकिन्थ्यो । पुल भत्किएपछि सदरमुकामदेखि मगरागढी हुँदै पूर्व पश्चिम राजमार्गमा आउजाउ गर्न निकै समस्या भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्