Logo

भारतीय बाँध भत्किएपछि जोगियो गौर



काठमाडौं २ भदौ । चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो । त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर–गौर सडक खण्डको सखुअवा चोक भत्कायो । २२ किलोमिटर दूरीको मुख्य बजार डुबानमा पर्‍यो ।

स्थानीय प्रशासनले बाढीको खतरा आँकलन गर्दै चेतावनी दिएकाले स्थानीय जाग्राम थिए । ‘१० फिटसम्म पानी जम्मा भएको थियो,’ गौर भन्सार रोडका थोक सामान बिक्रेता जितेन्द्र साहले सम्झिए, ‘चारैतर्फ पानी नै पानी थियो ।’

 

पानीबाट जोगिन नगरवासी छतमा चढे । पक्की घर नहुनेले धर्मशाला र छिमेकीको घरमा आश्रय लिए । गौरबाट करिब एक किलोमिटर टाढा सीमा नजिक भारतले ठूलो र बलियो बाँध निर्माण गरेकाले पानीको बहाव रोकियो । ठूलो बाढी भएकाले स्थानीय र नेपाल प्रहरीले बाँधको साइफन (पानी निकासका लागि निर्माण गरिएको फलामे संरचना) खोल्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई आग्रह गरे ।

दसगजा नजिक भारतले निर्माण गरेको साइफन नखोलिदिँदा पानीले निकास पाएन । त्यसैले अत्यधिक क्षति भयो । साइफन खोल्नुको सट्टा एसएसबीले नेपालीलाई धपाए । अनि साइफनको सुरक्षार्थ खटिए । आइतबार साँझ बाढी थेग्न नसकेपछि सदरमुकामको पूर्व–दक्षिण किनारमा रहेको भारतको मसाहास्थित बाँध दुई ठाउँमा भत्किएपछि गौरको पानी बैरगनिया तर्फ बग्यो । बाँध भत्किएको ठाउँमा एक भारतीय नागरिकको तीन तले पक्की घर पनि बग्यो ।

‘सुरुमै साइफन खोलेर नियन्त्रित तरिकाले थोरै–थोरै पानी निकास गरिदिएको भए यति ठूलो क्षति हुँदैनथ्यो,’ उद्योग वाणिज्य संघका संस्थापक सदस्य देवप्रयाग गुप्ताले भने, ‘उनीहरूले सहयोग गर्नुपथ्र्यो । रोटी–बेटीको सम्बन्ध नागरिक स्तरमै कायम रह्यो, प्रशासनिक स्तरमा लागू भएको देखिएन ।’

उनका अनुसार २०५० को वाग्मतीको बाढीपछि भारतले सीमा क्षेत्रमा १२ फिट अग्लो र २५ फिट चौडा बाँध निर्माण गरेको थियो । गौर बजारभन्दा मुस्किलले २ किलोमिटर दक्षिणमा छिमेकी बैरगनिया बजार छ । बाँध भत्काएर प्रवेश गरेको बाढीले बैरगनिया पनि दुई दिन जलमग्न भएको थियो । भारतीय सुरक्षाकर्मीले समयमै साइफन नखोलेको भन्दै गौरवासीले आक्रोश व्यक्त गरे । प्रत्येक वर्षात्मा एसएसबीले साइफन बन्द गर्छ । साइफन निर्माण भएकै पानी निकासका लागि हो । यसपालि क्षति बढी भएकाले छिमेकीको व्यवहारले गौरवासी आक्रोशित छन् ।

लयमा फर्किंदै
५ दिनपछि बिहीबार गौरमा चहलपहल देखियो । भत्किएको चन्द्रनिगाहपुर–गौर सडक खण्डमा डाइभर्सन निर्माण भएपछि बस, जिपलगायतका सवारी सञ्चालनमा आएका छन् । राहत र अन्य सरकारी कामका लागि ग्रामीण भेगबाट आउने स्थानीयको भीड बाक्लो देखिन्थ्यो ।

मुख्य बजारका दायाँ–बायाँ लस्करै खुलेका पसलका अगाडि व्यापारीले बिक्रीका सामान घाममा सुकाउन राखेका छन् । कामदारको सहायताले पसल सरसफाइ गरिरहेका थिए । रेडिमेड कपडा व्यापारीले छतमा कपडा झुन्ड्याएका छन् । सरकारी कार्यालयका कागजात, फर्निचर पनि परिसरमा निकालिएको छ ।

निर्वाचन सामग्री भिजेर काम नलाग्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय अझै जलमग्न छ । सीमामा रहेको गौर भन्सार कार्यालय गोदामबाट कर्मचारीले भिजेका मालसामान निकालेर घाममा राखेका छन् ।

पक्की घरमा क्षति नभए पनि गौर नगरपालिका– ३ मा बसोबास गर्ने ६० दलित परिवारका कच्ची घरमा पूर्ण क्षति भएको छ । सरकारले त्यहाँ जनता आवास कार्यक्रमसमेत सञ्चालनमा ल्याएको थियो । सरकारी ढिलासुस्तीले दलितका लागि समयमै पक्की घर निर्माण हुन नसक्दा उनीहरू फुसको घरमा बस्दै आएका थिए । तिनै घर भत्किएका हुन् । ‘सहरमा बाढी प्रवेश गरेपछि मठको छतमा आश्रय लिएका थियौं,’ विन्देश्वर माझीले भने, ‘४ दिनपछि घर फर्कियांै ।’ उनीहरूले हालसम्म कुनै राहत नपाएको गुनासो गरे ।



प्रतिक्रिया दिनुहोस्