Logo

पूर्व प्रधानमन्त्रीहरुको देउवालाई सुझाव



काठमाडौं ४ भदौ ।
पूर्व प्रधानमन्त्रीहरूले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन र भारतबीच दोक्लमलाई लिएर भइरहेको तनावका बारेमा नेपाल ‘तटस्थ’ भूमिकामा रहनुपर्ने सुझाव दिएका छन् । चीन र भारतबीच ‘दोक्लम’ बिषयलाई लिएर चलीरहेको तनावबीच हुन लागेको आफ्नो भारत भ्रमणबारे सुझाव लिन देउवाले शनिबार पूर्वप्रधानमन्त्रीहरुसंग छलफल गरेका थिए ।

छलफलमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भने राजधानीमै भएर पनि अनुपस्थित रहे । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार दिनेश भट्टराईले पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र पूर्व मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपालमा हुने डुबान समस्या समाधानका लागि पहल गर्न, भारतीय सहयोगमा सुरु भएका परियोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने बिषयमै कुरा राख्नुपर्नेमा जोड दिएको बताए ।

‘मेरो भारत भ्रमणमा तपाईहरुको धारणा के छन् भनेर प्रधानमन्त्रीले सुझाव माग्नु भयो’ परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘पूर्व प्रधानमन्त्रीज्यूहरुले पनि तपाईं अनुभवी नै हुनुहुन्छ । नेपालको सम्मान र स्वार्थलाई ध्यानमा राखेर धारणा राख्नुहोला भन्ने सुझाव दिंदै भ्रमणको सफलताको शुभकामना दिनु भएको छ ।’ छलफलमा क्रममा पूर्व प्रधानमन्त्रीहरुले पनि नेपालको डुबान समस्यालाई प्राथमिकतामा राखेर कुरा राख्नुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लहकार भट्टराईले डुबान समस्या भ्रमणको औपचारिक एजेण्डामा समावेश भएको बताए ।कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्