Logo

चिकित्सा शिक्षा विधेयकको ‘माफियामुखी संस्करण’ पारित गर्ने प्रयास



 

काठमाडौं ४ भदौ ।
प्रा.डा.गोविन्द केसीले संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा रहेको चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण कुनै पनि बेला संसदको पूर्ण बैठकमा प्रस्तुत गरेर पारित गर्ने कोशिस भइरहेको दाबी गरेका छन् ।

२३ दिन लामो ११ औं अनसन स्थगन गरेर हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा.केसीले शनिबार उक्त दाबी गर्दै सरकारले बेला मै उक्त कुरा नसच्याए पुन: अनशन गर्ने चेतावनी दिएका छन् ।

‘संसदको समितिमा ‘कन्ºलीक्ट अफ इन्टरेस्ट’ भएका सांसदहरु पहिला कै माफियामुखी विधेयक आइतबार संसदमा प्रस्तुत गर्दैछन् भन्ने जानकारी पाएका छौं’, डा. केसीले कान्तिपुरसंग भने, ‘यो सरासर धोका हो, वार्तामा सरकार, मध्यस्थकर्ता, नेता लगायतका बसे अब उदासिनता देखाउँदै छन् ।’

तीन करोड नेपालीको स्वस्थ्य रहने अधिकार हनन् कुनै पनि पक्षद्वारा हुन नदिइने जनाउँदै डा. केसीले भने, ‘बाढीले गर्दा अनशन स्थगित गर्ने बेला मै मैले भनेको थिएँ, माफियामुखी विधियेक पारित गर्न खोजे जुनसुकै बेला तुरन्त अनशन बस्छु र यसको जिम्मेवार प्रधानमन्त्री, दल, नेताहरु हुनेछन् ।’

यता त्रिविको कार्यकारीले आफूसंग गरेको सम्झौता विपरित गैरकानुनी तरिकाले काठमाडौं नेशनल कलेजलाई सम्बन्धन दिंदै गरेको जनाउँदै डा. केसीले आफूलाई धोका दिईरहेका सरकारको माफियातन्त्र कुनै पनि हालतमा चल्न नदिने बताए ।

उनले आइतबार पत्रकार सम्मेलन गरेर यी सम्झौता विपरितका कदमहरुको विरोधमा अनशन बस्नेसम्मको विरोध कार्यक्रम गर्नसक्ने चेतावनी दिए ।

माथेमा प्रतिवेदन लगायत आफूहरुले दिएका सुझावहरु नसमेटिएसम्म चिकित्सा शिक्षा ऐन कुनै पनि हालतमा स्वीकार्य नहुने जनाउँदै डा. केसीले भने, ‘विधेयक पारित गर्ने वाचा दिएका राजनीतिक दल र नेताहरुलाई अहिले कै अवस्थामा कुनै पनि हालतमा विधेयक अघि नबढाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउँछु ।’

उनले संसदमा विधेयक प्रस्तुत भइहालेको अवस्थामा त्यसलाई परिमार्जनका लागि तुरन्त समितिमा फर्काएर माथेमा प्रतिवेदनका छुटेका बुँदा तथा आफूहरुले दिएका सुझावहरु समेटेर मात्र पुन: संसदमा प्रस्तुत गर्नुको विकल्प नरहेको समेत दोहोर्‍याए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्