Logo

असोज ४ देखि ११ गतेसम्म प्रथम दुधे गोल्डकप फुटबल हुने



बिर्तामोड, ४ भदौ । दुधे यूथ क्लबको आयोजनामा असोज ४ देखि ११ गतेसम्म झापाको शिवसतासी नगरपालिकामा प्रथम दुधे गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। यो समाचार अन्नपूर्णमा छ ।

आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी गोल्डकप फुटबलको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक सहित नेपालका ८ वटा राष्ट्रिय टीमको सहभागिता रहने क्लबका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।

एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, हिमालयन शेर्पा, रुपन्देही ११, झापा ११, मोरङ ११, आयोजक दुधे युथ क्लबले प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको थोप्राले बताए। आयोजकले शिवसतासी नगरपालिका भित्रैका खेलाडी सहभागि भएको टीम बनाएको क्लबका अध्यक्ष थापाले बताए।

प्रतियोगिताको विजेता टीमले ३ लाख १ हजार र उपविजेता टीमले १ लाख ५१ हजार रुपैंया पुरस्कार, मेडल, शिल्ड पाउने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको थोप्राले बताए। यसैगरी म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैंयाँ प्रदान गरिने बताइएको छ।

प्रतियोगितामा ३४ लाख रुपैंयाँ संकलन हुने आयोजक समितिका प्रचार प्रमुख बिनोद सापकोटाले बताए । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैंयाँ खर्च हुने अनुमान आयोजकको छ। सापकोटाले प्रतियोगिता पछि बचत हुने रकमले खेलकुद एकेडेमी निर्माण, अक्षयकोष स्थापना र खेलमैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन खर्च गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्