Logo

प्रतिष्ठानका अध्यक्ष पंगेनीलाई कृष्णको घतलाग्दो खुल्ला पत्र



काठमाडौं, ५ भदौ ।

बद्री जी नमस्कार,  

धौलागीरी जस्तो गीत संगीतको उर्वर भुमिमा जन्मीएको हुँ म । तपाईले सृजनागर्नु भएको ससुरालीमा भन्ने गीतको क्यासेट ३५ रुपैयामा किनेर सयौं रुपैयाँका व्याट्री सकिने गरि सुन्ने मान्छे मै हुँ ।

हात हेराउदा ज्योतिषि  बोलको हजुरले गाएको गीत सुनेर कतिको आँसु खसेको देखेको हुँ मैले । समय या हाम्रो भाग्य यस्तै–यस्तै कालजयी गीत सिर्जनागर्ने हजुर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

त्यो धेरै खुसीको कुरा हो । जुन नेपालमा गीत संगीतको सबैभन्दा ठुलो सञ्जाल हो । तपाई जुनसुकै पार्टीमा आस्था राख्नुस् या जुन सुकै पार्टीको गीत गाउनुस त्यो कुराले म जस्तो संगीत प्रेमी श्रोताको लागी कुनै महत्व दिँदैन ।

मैले त आज पनि हजुरलाई उत्कृष्ट क्षमता भएको जनताको गीत गाउने गायकको रुपमा चिन्छु र चिन्ने पनि छु । जुन दिन तपाई प्रतिष्ठानको अध्यक्ष जस्तो गरिमामय पदमा धौलागीरीका चर्चित गायक तथा सर्जक विष्णु खत्रीलाई पराजीत गर्दै चयन हुनु भो त्यस लगत्तै विकृति विसँंगती अन्त्यगर्ने साथै त्यस्ता समाजलाई अपाच्य हुने गीत प्रतिष्ठानका पदाधिकारीबाट सिर्जना नगर्ने तथा त्यस्ता गीतमा कोहि पनि संलग्न नहुने पनि निर्णय भयो ।

कसम, खुब खुसि लागको थियो त्यो सुनेर । अब केहि हुन्छ है हाम्रो गीत संगीतमा भन्ने पनि लागेको थियो । त्यस पछिका दिनहरुमा तपाइले नै फेशबुक मार्फत केहि विकृति विरुद्ध गरिएका कदमहरु पनि सार्वजनिक गर्नु भयो । प्राय ति सबै कदमलाई मैले लाइक र कमेन्ट समेत गरेको छु । यसको अर्थ यो हो कि, म जस्ता हजारौैैं श्रोता दर्शक खुव खुसी छन ।

यति हुँदा हुँदै पनि यो क्षेत्र भित्रको विकृति र विसंगतीमा खासै त्यस्तो कमि आएको देखिदैन किन होला ? अन्य कार्य समितिको सदस्यहरुले हजुरको प्रयासलाई साथ नदिएका हुन ? के पैसा कै लागी जस्तो पनि गीत गर्दै छन प्रतिष्ठानका पदाधिकारीहरु ? यदि त्यसो होइन भने मलाई एउटा सानो जिज्ञासाको जवाफ दिनुहोस ।

विषय प्रवेश गरौं बद्रि जी , हुन त अहिलेका अधिकांश तीज नाम दिइएका गीतहरु तीज भन्न लाएक पनि छैनन् । कसैले विदेश कार्यक्रम पाउनको लागी,कसैले चर्चा पाउनको लागी र कसैले पैसा कमाउनको लागी जस्तापायो त्यस्ता गीतलाई पनि तीज गीत भन्दीएका छन र हामीले सुन्दीएका पनि छौ ।

यसमा कलाकारहरुको मात्र के दोष र त्यस्ता घिन लाग्दा गीत दिनको दश पटक सुन्ने हामी नै हो । हुन तर गीतनै सार्वजनिक नभएको भए हामीले पनि कहाँ सुन्थ्यौ र ? पछिल्लो समय एउटा तीज गीत सार्वजनिक भएको छ । हजुरको जानकारीको लागी त्यो गीतको लिङ्क यसै पत्रमार्फत पनि देखाइएको छ । यसलाई अन्य पाठकले गीतको प्रचार गरेको रुपमा नलिइदिनुहुन विनम्र अनुरोध छ ।

त्यो गीत सार्वजनिक भएको छोटो समयमै खुव चर्चित बनेको छ । त्यो सकरात्मक नभइ नकरात्मक बढी छ ।गीत आशिष म्युजिक जस्तो प्रतिष्ठीत म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको रहेछ ।

यो त एउटा कम्पनीको नाम मात्र किन यहाँ यस्तो कामगर्ने कलाकार र कम्पनी कति हो कति छन । यसो त पैसा भने पछि महादेवका पनि तिन नेत्र खुल्छन भन्छन । व्यवसायीक कम्पनीको के कुरा गर्नु ? गीत कस्ले कुन नियतले सिर्जना गरे त्यो मेरो विषय नहोला,असारे भेलमा हिलो पनि बगेर आउछ, शालिग्राम पनि । दुखको कुरा त यो गीतमा संलग्न प्रतिष्ठानका पदाधिकारी को हो ।

बद्रि जी मलाई यति भन्दीनुस ‘कट्टु माथी बुट्टा’भन्ने के यस्तो पनि यो तीज गीत हो ? के तपाई, हामी यो गीत हाम्रो परिवारको विचमा बसेर हेर्न सक्छौं ? सक्छौं भन्नु हुन्छ भने यो प्रश्नको जवाफ तपाईले दिन सक्नु हुन्न यदि हैन यो गीत गलत छ भन्नु हुन्छ भने मलाई अर्को पनि उत्तर दिनुस यो गीतमा प्रतिष्ठानका पदाधिकारीको संलग्नता किन छ ? पैसाको लागी ? नियम कानुन केहि नभएर ? संस्था र पदको कुनै बास्ता नभएर ? किन र केको लागी ? गीतको निर्देशनगर्ने प्रतिष्ठान सचिव शंकर वि.सी ज्यू ।

यो गीत गाउने गायीका प्रतिष्ठान सदस्य पुर्णकला वि.सी अनि गीतमा अभिनय गर्ने पनि प्रतिष्ठानकै सदस्य पार्वती राई । कसम बद्रि जी मलाई लाज लाग्यो गीत हेरेर भन्दा पनि गीतमा हाम्रा पदाधिकारीको संलग्नता देखेर तपाईलाई लागेन ? यदि तपाइलाई पनि लाग्यो भने प्रतिष्ठानको बैठकमा यो कुरा उठाउनुस ।

हजुरले आजसम्म यो कुरा थाहा नपाएको भए पनि आज यो पत्र पढे पछि थाहा पाउनु भयो होला यस्तो गीतमा हाम्रो संलग्नता शुन्य पारौं । पैसा पाए पछि जस्तो पनि गीतमा काम गर्ने प्रवृति अन्य गरौं तव पो बन्द गीत संगीत सफा र सबैले हाइ हाइ भन्ने ? यति मात्र होइन अर्को पनि एउटा गीत छ जुन सबैको विचमा त कुरै छोडौं एक्लै हेर्दा पनि लाज लाग्छ । यो गीतलाई अपलोड पर्ने कम्पनीले गीतको प्रतिक्रिया समेत बन्द गरेर लाजमर्दो गीत सार्वजनिक गरेको छ ।

अझ दुखको कुरा त त्यो गीतलाई पनि दोहोरी गीत भनिएको छ । हजुरलाई कुन गीत भन्ने लाग्ला लुतो हो की पिलो बोलको गीत । बद्री जी कृपया यस्तो गीतमा संलग्नलाई किन कावार्ही हुँदैन ? मैले उल्लेख गरेका यी त प्रतिनिधि पात्र मात्र हुन । यस्ता गीत त कति हो कति छन जुन हेर्न र सुन्ननै सकिन्न ।

त्यस्तै चर्चित गायक तथा प्रतिष्ठानका उच्च पदाधीकार पशुपति शर्माले सिर्जना गरेका धेरै गीत सार्वजनिक भएका छन,उनले सार्वजनिक गरेका गीतका शब्दमा मौलीकता छ तर लयमा रयौली र अरुको लय समेत चोरेको आरोप लागेको छ ।

त्यस्तै चर्चित गायक खुमन अधिकारीलाई पनि अरुको गीत कपि गरेको आरोप आएको छ । त्यो आरोप लगाउने गायीका हुन हरिदेवी कोइराला । चर्चित गायीका हरिदेवी कोइरालले शर्मा र अधिकारीलाई लगाएको आरोप प्रति हामी चुप छौ हामी किन नबोलेको ? यस्ता कुराहरुमा प्रतिष्ठान किन चुप बसेको होला ?

 

पदाधीकारीहरुलेनै गल्ती गरे पछि अरुलाई भन्ने ठाँउ रहला र ? यीत केहि गीतका उदाहरण मात्र हुन प्रतिष्ठानका पदाधीकारीको नाम जोडीएका । अन्य कालाकारहरुबाट यस्ता धेरै कम्जोरी र गल्ती भइरहेका छन । प्रतिष्ठानकै सम्लग्नता रहेको विषयमा त हजुरहरुको ध्यान जान सकेको छैन भने अन्य विकृति विसंगती हटाउनको लागी कसरी सक्नु होला ?

अन्त्यमा बद्रि जी यो पत्र लेखे पछि मेरो सानो अपेक्षा पनि छ । यस्ता गीतहरुको विषयमा प्रतिष्ठानको बैठकमा छलफल हुनेछ र केहि निर्णय पनि हुनेछ । यसो त तपाई अहिले बाढि पिडीतको सहयोगार्थ रौतहट हुनुहुन्छ राम्रो कामको लागी जानु भएको छ काम सफल रहोस शुभकामना छ ।

साथमा यस्ता कुरालाई पनि प्रतिष्ठानले उठाउने गरेमा म लगाएत लाखौं संगीतप्रेमी हामी आभारी हुने थियौ र हाम्रो तर्फबाट हजुरहरुलाई कस्तो सहयोग चाहिन्छ हामी जस्तो सुकै सहयोग गर्न पनि तयार छौं समेत भन्न चाहान्छु् ।

हजुरको भलो चाहाने
कृष्ण आचार्य
बाग्लुङ

 



प्रतिक्रिया दिनुहोस्