Logo

सप्तकोसीमा उच्च बाँध १५ जिल्ला खतरामा



काठमाडौं ६ भदौ । सुनसरी, धनकुटाका साथै उदयपुरको बेलका नगरपालिकाको सिमानास्थित सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माण प्रक्रियासँगै प्रदेश १ मा खतरा हुने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिएको छ । सप्तकोसी उच्च बाँध निर्माण प्रक्रिया अघि बढेसँगै सरोकारवालाले सो काम तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघिको कोसी सम्झौताको पूर्ण पालना नगरेको भन्दै सरोकारवालाले सो सम्झौता कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सप्तकोसीमा निर्माण गर्ने भनिएको २ सय ६९ मिटर अग्लो बाँधले प्रदेश १ मा समस्या हुने उनीहरूको भनाइ छ ।

कोसी सम्झौताले सिर्जना गरेका समस्या ज्यूँका त्यूँ रहेकाले सरकारले पुनः कोसी उच्च बाँधको काम अघि बढाउन नहुने पूर्वमन्त्री तथा सुनसरी क्षेन ६ का सांसद भीम आचार्यले बताए । भारतले कोसी सम्झौताअनुसार सप्तकोसी नदीका कारण विस्थापनमा परेका पीडितलाई राहत एवं क्षतिपूर्ति रकम नदिई कोसी सम्झौताको उल्लंघन गरेको उनको आरोप छ । ‘भारतले सप्तकोसी नदीमा ब्यारेज बनाउनुअघि गरेको कोसी सम्झौताको पूर्ण पालना नगरी अर्को सम्झौता कदापि हुन सक्दैन,’ सांसद आचार्यले भने,

‘नेपाल र नेपालीको हित प्रतिकूल सप्तकोसीमा उच्च बाँध निर्माण गर्न जनताले कुनै हालतमा दिँदैनन् ।’ एमाले प्रदेश १ का संयोजकसमेत रहेका आचार्यले सप्तकोसीमा उच्च बाँध बनाउन आफ्नो पार्टीले नदिने बताए । प्रदेश १ का साविकका ८३ वटा गाविसमा कोसी उच्च बाँधको असर पुग्ने भएकाले त्यो नेपालको हित अनुकूल नहुने उनको भनाइ छ ।

भारत सरकारको दबाबमा सप्तकोसीमा उच्च बाँध निर्माण गर्न नेपालले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न अनुमति दिएलगत्तै सरोकारवाला निकायले विरोध गर्दै आएका छन् ।

सप्तकोसीमा उच्च बाँध निर्माण हुँदा सुनसरी, उदयपुर, सप्तरी, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुली, रामेछाप, दोलखालगायत जिल्लामा गम्भीर समस्या सिर्जना हुने कोसी योजनाका पूर्वभूआर्जन अधिकृत गोपाल कोइरालाले बताए ।

सप्तकोसीमा निर्माण गर्ने भनिएको बाँध नेपालका लागि घातक हुने उनको भनाइ छ । सो बाँध नेपाल र नेपालीको हितमा नभएका कारण सरकारले सो आयोजनाको काम गर्न भारतलाई स्वीकृति दिन नहुने उनले बताए ।

भूकम्पीय दृष्टिले समेत महाभारतको पहाडी भूभाग कमजोर रहेकाले सप्तकोसीमा बाँध निर्माण गर्न नहुने कोइरालाको सुझाव छ । यसअघि पनि सप्तकोसीआसपासका क्षेत्रमा सरकारले डीपीआर तयार गर्न भारतलाई अनुमति दिएको भन्दै स्थानीय एवं सरोकारवालाले चर्को विरोध गर्दै आएका थिए ।

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी र धनकुटाको आहालेदेखि सुनसरी, सप्तरी र उदयपुरका भूभाग ओगटेर निर्माण गरिने सप्तकोसी उच्च बाँधले प्रदेश १ का सबै जिल्लामा मानवीय एवं भौतिक क्षति गर्ने भएकाले त्यसको काम अघि नबढाउन सरकारसमक्ष अनुरोध गरिएको पूर्वसांसद किरणकुमार राईले बताए । जनताको अनुमतिबिना सरकारले भारतलाई सप्तकोसीमा बाँध निर्माण अनुमति दिए आफ्नो पार्टीले त्यसको प्रतिकार गर्ने उनले चेतावनीसमेत दिए । कोसी उच्च बाँध निर्माण भई त्यहाँ भण्डारण हुने पानीका कारण महाभारतको कमजोर भूबनोटमा ९ रेक्टर स्केलको भूकम्प जान सक्ने भूगर्भविद्हरूको भनाइ छ ।

जबर्जस्ती बाँध निर्माण गर्न नहुने र जनताको हितविपरीत कोसी उच्च बाँध निर्माण गर्ने प्रयास गरे त्यसलाई कुनै पनि हालमा पूरा हुन नदिने बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

जुनसुकै काम गर्नुपूर्व जनताको स्वीकृत लिनुपर्ने भएकाले जनहितविपरीत काम गर्न कसैले पनि नहुने नगर प्रमुख थापाले बताए । कोसी सम्झौताले बेलका नगरपालिकाका १ र २ वडा बर्सेनि डुबानमा पर्दै आए पनि कसैले चासो नदिएको गुनासो नगर प्रमुख थापाको छ ।



प्रतिक्रिया दिनुहोस्