Logo

स्मार्टकार्ट लागूगर्ने खुम्बु पासाङल्हामुको तयारी



सोलुखुम्बु, ७ भदौ । सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ट लागू गर्न तयारी शुरु गरेको छ ।

गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार खुम्बु प्रवेश गरेका पर्यटक बेपत्ता हुने तथा सुरक्षामा चुनौती बढ्दै गएकाले पर्यटकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।

उहाँका अनुसार पर्यटक खुम्बुको प्रवेशद्वार लुक्लामा प्रवेशलगत्तै उनीहरुलाई स्मार्ट कार्ड उपलब्ध गराउने र त्यो कार्ड बोक्ने पर्यटक कहाँ जाँदैछ भन्ने जानकारी लिइनेछ । स्मार्ट कार्डका लागि टेण्डर आह्वान गरी सकेसम्म आगामी आरोहणको मौसमभन्दा अघि परीक्षणका रुपमा भएपनि लागू गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

वर्षमा औषत ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने खुम्बुमा वर्षेनी तीन-चार जना पर्यटक हराउने गरेको प्रहरीको तथ्याँक छ ।

यस्तै, उचाइमा हुने विभिन्न स्वास्थ्य समस्याका कारण आपत्कालीन उद्धार गर्नुपर्ने पर्यटकको संख्या समेत थुप्रै हुने गरेको छ । स्मार्टकार्ड लागू भएपछि आपत्कालीन अवस्थामा उद्धार चाँडो हुने र पर्यटकले सुरक्षित महशुस गर्ने अध्यक्ष शेर्पाको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्