Logo

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी



काठमाडौं ११ भदौ ।
नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ । सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् ।

गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वितरण गरेको विवरण सार्वजनिक गरेको थियो । कलेजको सम्पत्तिमा अनियमितता भएपछि विद्यार्थी, कर्मचारी तथा स्थानीयबासी आन्दोलित छन् । केही सञ्चालकको अनियमितता र गलत क्रियाकलाप सोधखोजका क्रममा उनीहरूले कलेजको सम्पत्ति हत्याउने प्रयास गरेको पत्ता लगाएका हुन् ।

केही स्थानीयबासीले दिएको सूचना पछ्याउँदै जाँदा कम्पनी रजिष्ट्रारको कार्यालयबाट हाल सञ्चालनमा रहेको कलेजको नामसँग हुबहु मिल्नेगरी कम्पनी दर्ता गरिएको तथ्य फेला परेको छ । १६८१६०–२०७३/७४ दर्ता नम्बर उल्लेख गरी गत बैशाख २५ गते ‘नेपाल इन्जिनियरिङ कलेज’ नामका प्राइभेट कम्पनी दर्ता भएको अभिलेखबाट देखिन्छ ।

कम्पनीका सञ्चालक न्यौपानेले निजी कम्पनी भएपनि कलेज सञ्चालन र सम्पत्ति खरिदबिक्रीमा ‘नेपाल इन्जिनियरिङ कलेज’ मात्रै भनी उल्लेख गरिने सूचना कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिएका छन् । यो नाम सामाजिक संस्थाका रूपमा चाँगुनारायणमा सञ्चालित इञ्जिनियरिङ कलेजसँग हुबहु मिल्छ ।

रोचक त के छ भने उक्त निजी कलेजका सञ्चालकको रुपमा रहेका लम्बोदर न्यौपाने नै हालको गैरनाफामूलक इन्जिनियरिङ कलेजका अध्यक्षसमेत हुन् । गैरनाफामूलक संस्थाको सम्पत्ति बाँड्ने निर्णयबाट विवादमा परेका न्यौपानेले भक्तपुरको चागुनारायणमै आफ्नो कम्पनी स्थापना गरी त्यहीँ सञ्चालन हुने विवरण पेस गरेका छन् । कलेजको अधिकृत पूँजी १० करोड रुपैयाँ देखाई सञ्चालक न्यौपानेले ७ करोड रुपैयाँको सेयर आफ्नो नाममा राखेका छन् ।

निजी कम्पनीका रूपमा दर्ता भएको कलेजको प्रबन्धपत्रमा हालको गैरनाफामूलक कलेजको सम्पत्ति हत्याउन खोजेको स्पष्टै देखिन्छ । प्रबन्धपत्रमा ‘यसअघि कम्पनी ऐन अनुसार दर्ता नभई पोखरा विश्वविद्यालयको सम्बन्धनमा मात्र सञ्चालन भएका सम्पूर्ण शैक्षिक कार्यहरू आजको मितीदेखि कम्पनी ऐन अनुसार सञ्चालन भएको मानिनेछ’ भन्ने उल्लेख छ । यो व्यवस्थाले सामाजिक संस्थाको सम्पत्ति व्यक्तिको नाममा ल्याउन खोजेको प्रस्ट देखिन्छ ।

साथै प्रबन्धपत्रमा उक्त कलेजले खरिद वा निर्माण गरेका सम्पूर्ण चल/अचल सम्पत्ति स्वत: यस कलेज (निजी) को हुनेछ’ भनिएको छ । साथै उक्त कलेजको लेनदेनसमेत दर्ता भएको कम्पनीको जिम्मेवारीमा सर्ने उल्लेख छ ।

स्रोतका अनुसार, कम्पनी दर्ताका क्रममा समेत कम्पनी रजिष्ट्रारको कार्यालयमा मिलेमतो भएको देखिएको छ । अन्य कुनै व्यक्तिको सम्पत्ति अब दर्ता हुने कम्पनीको स्वामित्वमा आउने भन्ने व्यवस्थामा सम्बन्धित व्यक्तिको समेत स्विकृति र उपस्थिती आवश्यक पर्छ । स्रोतका अनुसार सर्भर डाउन भएको भन्दै कम्पनी दर्ता गरिएको दिन आवश्यक कागजातसमेत स्क्यान गरी राखिएको थिएन ।

गैरनाफामूलक संस्था विघटन भए सम्पत्ति स्वत: सरकारका नाममा जाने संस्था दर्ता ऐनको व्यवस्था लत्याउँदै तयार भएको प्रबन्धपत्रलाई हुबहु अनुमोदन गरी कम्पनी रजिष्ट्रार कार्यालयका सह–रजिष्ट्रारले समेत प्रमाणपत्र दिएका छन् । प्रमाणपत्र र प्रबन्धपत्रमा हस्ताक्षर गर्ने सह–रजिष्ट्रारको नाम भने खुलाइएको छैन । निजी कलेजका सञ्चालक लम्बोदर न्यौपानेले गैरनाफामूलक कलेजलाई कम्पनी मातहतमा ल्याउने प्रयास गरेकोबारेमा प्रतिक्रिया दिन मानेनन् । ‘भेटेर कुरा गरौंला’ उनको प्रतिक्रिया थियो

गैरनाफामूलक संस्था भएकै कारण कलेजले गाविसबाट स्विकृती लिएर भक्तपुरको चाँगुनारायणमा १ सय ७४ रोपनी सरकारी जग्गामा भौतिक संरचना बनाएको छ । कलेजको आफ्नै ३९ रोपनी जग्गा छ । कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले नेपाल इञ्जिनियरिङ कलेज नाफामूलक कम्पनी भएको दाबी दोहोर्‍याए । ‘हामीले नाफामूलक कम्पनीबाट नै कलेज चलाएको हो,’ न्यौपानेले कान्तिपुरसित भने । हालको नेपाल इन्जिनियरिङ कलेज भने २०६० भदौ ४ मा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको हो, त्यसैका नाममा सञ्चालन हुँदै आएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्