संयुक्त राष्ट्रसंघ, १३ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गर्नु भएको छ । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि भएको प्रयासको सराहना गर्नुभएको छ । यस क्रममा भएका प्रयासहरुले आगामी दिनमा पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा उहाँको जोड थियो ।
महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस ।’
युक्रेनमा गत शुक्रबार नयाँ युद्धविरामको घोषणा गरिएको हो । तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार भने आएको थियो । सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन् । यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन् ।
युद्धविरामपछि पनि सैनिक क्रियाकलापहरु नरोकिने अवस्थाको अन्त्यगरी शान्तिका लागि प्रयास थाल्न महासचिव गुटेरेशले सबैसँग आग्रह गर्नुभएको हो ।
सोमबारमात्र फ्रान्सका राष्ट्रपति र जर्मनी चान्स्लरले रसियाली र युक्रेनी राष्ट्रपतिलाई शान्तिपूर्ण रुपमा सो युद्धविरामको पालना गरी वर्तमान हत्या हिंसाको क्रमलाई तत्कालै रोक्न सो विज्ञप्तिमार्फत माग गर्नुभएको हो ।
पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुुरु भएको छ । युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन् ।
तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिइआएको छ । जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो । सिन्ह्वा